निर्वाचन सुरक्षाका लागि १६ सय बढी सशस्त्र प्रहरी परिचालन
शान्तिपूर्ण मतदानको तयारी
मेयरसाप डेस्क
|
२०८२ फागुन ६ गते १७:०६
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि सशस्त्र प्रहरी बलले आफ्नो तयारी तीव्र पारेको छ । बिहीबार मात्रै सशस्त्र प्रहरी मुख्यालय, हलचोकमा कार्यरत १६ सयभन्दा बढी जनशक्तिलाई विभिन्न जिल्लामा परिचालन गरिएको छ ।
सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार, मुख्यालयबाट खटिएका यी सुरक्षाकर्मीहरू विशेषगरी संवेदनशील र अतिसंवेदनशील मानिएका मतदान स्थलहरूको सुरक्षामा केन्द्रित हुनेछन् ।
निर्वाचनको मिति नजिकिएसँगै सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सशस्त्रले धमाधम जनशक्ति फिल्डमा पठाउन थालेको हो ।
सशस्त्रसँगै नेपाल प्रहरीले पनि निर्वाचन सुरक्षाका लागि व्यापक परिचालन सुरु गरेको छ। प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका र मुख्यालयमा कार्यरत करिब १३ हजार प्रहरीलाई थप मद्दतका लागि जिल्ला–जिल्लामा खटाउने तयारी गरेको छ ।
फागुन २१ गते देशभरका १० हजार ९६७ मतदान स्थलबाट मतदान हुँदैछ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन केन्द्रबाट ठुलो सङ्ख्यामा सुरक्षाकर्मीहरू खटाएर सुरक्षा व्यवस्था मजबुत पारिएको सुरक्षा निकायले जनाएका छन् ।
Facebook Comments