Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

डिएसपी सुवास भट्ट बागमती प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित

User Image मेयरसाप डेस्क | २०८२ फागुन ६ गते १९:४३
Image of https://mayorsap.com/storage/photos/shares/fb-img-1771508562635.jpg

कामाण्डाै ।  इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्ट बागमती प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले अपराध अनुसन्धानमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै डिएसपी भट्टलाई २०८२ साल माघ महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको हो । बागमती प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक रेग्मीले मंगलबार उनलाई बधाई ज्ञापन गर्दै यो घोषणा गरेका हुन् ।

डिएसपी भट्टलाई वृद्धाको हत्या तथा लुटपाटको सफल अनुसन्धानलगायतका कार्यका लागि यो सम्मान प्रदान गरिएको छ । गत पुस २६ गते रत्ननगर नगरपालिका–४ सिनेमारोडकी ६३ वर्षीया सुकमाया देवी तामाङलाई ढोका फुटाएर हत्या गरिएको थियो । हात, खुट्टा र मुख बाँधिएको अवस्थामा मृत फेला परेकी उनको साथबाट सुनका गरगहना, नगद र मोबाइल लुटिएको थियो ।डिएसपी भट्टको नेतृत्वमा भएको सफल अनुसन्धानबाट घटनामा संलग्न ५ जना तथा चोरीको सुन खरिद गर्ने २ जना गरी ७ जना पक्राउ परेका थिए । उनीहरूको साथबाट लुटिएको १ तोला ५९.६ लाल सुन र अपराधमा प्रयोग भएका सवारी साधनसमेत बरामद गरिएको थियो ।

यसैगरी, उनको नेतृत्वमा गत मंसिर ७ गते रत्ननगर–१४ मा २१ वर्षीया सुस्मिता घिमिरे र उनकी बहिनी सुतिरहेको अवस्थामा कोठामा प्रवेश गरी हतियार देखाएर सुनको सिक्री लुट्ने प्रतिवादीहरूलाई माघ १८ गते पक्राउ गर्न सफल भएको थियो । नवलपरासीको बन्धक घटनाको पर्दाफासमा पनि डिएसपी भट्टको महत्वपूर्ण भूमिका रहेको छ । पक्राउ परेका डाँकाहरू यसअघि नै चोरी तथा डाँका मुद्दामा १४ वर्ष र २० वर्ष कैद सजाय भुक्तानी गरिसकेका अपराधी रहेको अनुसन्धानबाट खुलेको थियो । थप अनुसन्धानका क्रममा उनीहरूले नै गत मंसिर २ गते नवलपरासी–८ कावासोतीमा एकै परिवारका ६ जना सदस्यलाई हतियार देखाई बन्धक बनाएर धनमाल लुटपाट गरेको तथ्य डिएसपी भट्टको पहलमा खुल्न आएको थियो । यस कार्यमा जिल्ला प्रहरी कार्यालय नवलपरासीसँग आवश्यक समन्वय गर्न उनले प्रमुख भूमिका निर्वाह गरेका थिए ।

जटिल प्रकृतिका अपराध अनुसन्धानमा डिएसपी भट्टले प्रदर्शन गरेको नेतृत्वदायी भूमिका तथा सम्पादित कार्यको उच्च मूल्यांकन गर्दै महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि, २०७९ अनुसार यो सम्मान प्रदान गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


Facebook Comments