Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

भीम रावल भित्तामा कि संसदको कित्तामा ? सूर्य र ताराको जुधाइ, रूखको दाउ (भिडियोसहित)

User Image मेयरसाप डेस्क | २०८२ फागुन ७ गते १३:१२
Image of https://mayorsap.com/storage/photos/shares/maxresdefault-1.jpg

काठमाडौंको चश्माले हेर्ने दुरको, सुदूरपश्चिम हरेक जसो चुनावमा भने चर्चामा रहने गरेको छ । अझ अछाम १ यसको केन्द्र भागमा छ । अछामको राजनीतिले सिंहदरबारको जग हल्लाउने सामथ्र्य पनि राख्छ । आगामी २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनले अछाम–१, दशकौँदेखि अछामको राजनीतिमा राज गरिरहेका हस्तीहरूको अस्तित्व जोगाउने अग्निपरीक्षा बनेको छ । यसपटक अछाम क्षेत्र नम्बर १ को चुनावी मैदानमा तीनवटा फरक–फरक इतिहास बोकेका हेभिवेट नेताहरू आमनेसामने हुँदैछन् । भीम रावल, भरत कुमार स्वाँर र दीपक साउँद । यी तीन अछामका हेभिवेट नेताहरूको टकरावले अछामको राजनीतिक तापक्रम अहिले एकाएक बढेको छ ।

नम्बर–१ भीम रावल
अछाम–१ र भीम रावलको नाम पर्याय जस्तै हो । २०५१ सालदेखि संसदीय राजनीतिमा प्रवेश गरेका रावलले यस क्षेत्रबाट पटक–पटक चुनाव जितेर सिंहदरबारमा अछामको दह्रो उपस्थिति जनाएका थिए । नेकपा एमालेको १०औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग प्यानल नै बनाएर भिड्नु रावलका लागि एउटा टर्निङ पोइन्ट बन्यो । जुन एमाले बनाउन उनले ५० वर्ष रगत–पसिना बगाए, त्यही पार्टीले उनलाई चियाबाट निकालेको झिंगा जस्तो फुुत्त निकालेर मिल्काइदियो ।
ओलीसँगको राजनीतिक टक्कर र पार्टीभित्रको वैचारिक मतभेदले उनलाई घरको न घाटको बनायो । तर, बागी स्वभावका रावलले हरेस भने खाएनन् । ५० वर्षभन्दा लामो राजनीतिक जीवन बिताएको घरबाट निकालिएपछि रावलले मातृभूमि जागरण अभियानमार्फत देशभर राष्ट्रियताको बिगुल फुके । अहिले उनी १७ वटा वामपन्थी दल मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीबाट चुनावी मैदानमा छन् । उपप्रधानमन्त्री, गृह र रक्षामन्त्री जस्ता शक्तिशाली पदमा रहेर राष्ट्रिय राजनीतिमा आफ्नो कद उँचो बनाएका रावलका लागि यसपटकको चुनाव भने विगतको जस्तो सहज छैन ।

हिजो जुन एमालेको संगठनको बलमा उनले चुनाव जित्थे, आज त्यही संगठन उनीविरुद्ध उभिएको छ । रावलसँग लामो संसदीय अनुभव र राष्ट्रवादी छवि छ, तर जग र जरा भएको पार्टी एमाले र संगठन भने छैन । के रावलले आफ्नो व्यक्तिगत छवि र राष्ट्रवादी नाराकै भरमा अछाम क्षेत्र नम्बर १ को यो किल्ला फेरि पनि आफ्नो मुठ्ठीमा पार्लान्? के रावलले आफ्नो व्यक्तिगत प्रभावकै भरमा अछामको किल्ला जोगाउलान्? यो प्रश्न अहिले बहसको विषय बनेको छ ।

नम्बर–२ भरत कुमार स्वाँर
यता नेपाली कांग्रेसले यसपटक आफ्ना पुराना र निष्ठावान् नेता भरत कुमार स्वाँरलाई मैदानमा उतारेको छ । २०३१ सालदेखि लोकतान्त्रिक आन्दोलनमा होमिएका स्वाँर अछामको माटोमा भिजेका नेता हुन् । पञ्चायत विरोधी आन्दोलनदेखि २०६२–६३ को जनआन्दोलनसम्म अछामको नेतृत्व गरेका स्वाँरले जिल्ला विकास समिति र कांग्रेस जिल्ला सभापति भएर गाउँ–गाउँमा विकासको जग बसालेको उनका निकटस्थहरुले बताउने गरेका छन् ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनको लहरकाबीच पनि उनी झिनो मतले मात्र पराजित भएका थिए । यसपटक रावल र एमालेबीचको फुटले स्वाँरका लागि सफलताको ढोका खुल्न सक्ने विश्लेषण भइरहेको छ । भीम रावल र एमालेबीचको विभाजनको सिधा फाइदा उठाउने दाउँमा कांग्रेस छ । 

नम्बर–३ दीपक साउँद
सबैभन्दा रोचक त नेकपा एमालेको उम्मेदवारीमा देखिएको छ । एमालेले यसपटक अछाम–१ मा अनपेक्षित ट्विस्ट ल्याएको छ । केन्द्रीय सदस्य तथा पार्टीका प्रभावशाली नेता झपट बोहराको सट्टा दीपक साउँदलाई टिकट दिएर सबैलाई अचम्मित पारेको छ । 

सुरुमा झपट बोहराको नाम चर्चामा रहे पनि अन्तिम समयमा एमालेले दीपक साउँदलाई टिकट दिएको थियो । साउँदको राजनीतिक पृष्ठभूमि नेकपा माओवादीबाट सुरु भएको हो । २०७० सालको निर्वाचनमा उनै साउँद भीम रावलविरुद्ध माओवादीबाट चुनाव लडेका थिए ।

अहिले समय फेरिएको छ । हिजोका विपक्षी साउँद आज रावलकै पूर्वपार्टी एमालेबाट उम्मेदवार बनेका छन् । एमालेले साउँदलाई अघि सार्नुको पछाडि माओवादी पृष्ठभूमि र एमालेको सांगठनिक मत जोडेर भीम रावलको प्रभावलाई कम गर्ने रणनीति देखिन्छ । झपट बोहराकै समर्थनमा टिकट पाएका साउँद अहिले एमालेको सूर्य चिह्न र संगठनको भरमा रावलको विरासत ढाल्ने दाउमा छन् ।

यसै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट ओमप्रकाश रावल पनि उम्मेदवार छन् । पछिल्लो समय देशभर रास्वपाको लहर देखिए पनि अछाम–१ को हकमा भने यो अलि फरक देखिन्छ । भौगोलिक रूपमा ग्रामीण क्षेत्र भएको र दलहरूको पुरानो संगठन निकै बलियो भएकाले यहाँ नयाँ शक्ति र वैकल्पिक राजनीतिको खासै रापताप देखिएको छैन ।

अहिलेको चर्चा र विगतको मतपरिणाम हेर्दा अछाम–१ मा पुरानै दलहरूको वर्चस्व कायम रहने देखिन्छ । यहाँको अंकगणित र ग्रामीण मतदाताको मनोविज्ञान बुझ्दा रास्वपा अथवा कुनै अन्य नयाँ उम्मेदवारले तत्कालै ठुलो ‘सरप्राइज’ दिने सम्भावना निकै कम देखिन्छ । त्यसैले मुख्य प्रतिस्पर्धा कांग्रेस, एमाले र भीम रावलकै बीचमा केन्द्रित हुने पक्का छ ।

चुनावी अकंगणित
अछाम–१ को चुनावी अंकगणित झनै रोचक छ । अघिल्लो पटक यो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर निर्वाचित भएका थिए । उनले नेकपा एमालेका उम्मेदवार झपट बोहरालाई ४ हजार ४ सय ८९ मतान्तरले पराजित गरेका थिए । तर, कुँवरको त्यो जितमा नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीको संयुक्त गठबन्धनको तागत मिसिएको थियो ।

यसपटक समय फेरिएको छ, किनभने अघिल्लो चुनावमा तीनवटा ठुला दल मिल्दा पनि एमाले एक्लैले गठबन्धनलाई कडा टक्कर दिएको थियो । त्यसैले अहिले पनि एमालेका कार्यकर्ताहरू संगठनको मत सुरक्षित छ भन्नेमा ढुक्क देखिन्छन् । हिजो रावल एमालेमा हुँदा जुन मत एमालेको झोलीमा जान्थ्यो, अहिले त्यो मत भीम रावल र दीपक साउँदबीच बाँडिने निश्चित छ । यही विभाजनले गर्दा भीम रावल केही हदसम्म झस्किएका देखिन्छन् ।

अघिल्लो चुनावमा एमालेको बलियो मत देखेर तर्सिएको कांग्रेस यसपटक एमालेभित्रको फुट र भीम रावलको बहिर्गमनबाट सिधै फाइदा उठाउने दाउमा छ । गठबन्धन बिना पनि एमालेले ल्याएको त्यो मतले यसपटक कांग्रेसलाई पनि निकै सतर्क बनाएको छ । रास्वपाका ओमप्रकाश रावल पनि चुनावी मैदानमा त छन्, तर पुरानो अंकगणित र ग्रामीण क्षेत्रको मतको परिणाम हेर्दा नयाँ दलका लागि यो लालकिल्ला तोड्न फलामको चिउरा चपाउनु सरह देखिन्छ ।

भीम रावल, भरत स्वाँर र दीपक साउँदको यो भिडन्तले अछाम–१ को निर्वाचनलाई यसपटक थप रोचक बनाइदिएको छ । भीम रावलका लागि यो चुनाव अस्तित्वको लडाइँ हो, भने भरत स्वाँरका लागि अधुरो सपना पूरा गर्ने मौका । त्यस्तै, एमालेका लागि यो क्षेत्र व्यक्ति भन्दा पार्टी ठुलो प्रमाणित गर्ने चुनौती छ ।

के अछाम–१ का मतदाताले भीम रावलको व्यक्तित्व र राष्ट्रवादी अडानलाई फेरि विश्वास गर्लान्? या कांग्रेसको संगठित मतले भरत स्वाँरलाई विजयको माला पहिर्याउला? अथवा एमालेको सांगठनिक जालोमा दीपक साउँदले बाजी मार्लान्? त्यसका लागि भने निर्वाचनको अन्तिम मतपरिणाम नै कुर्नुपर्नेछ ।


Facebook Comments