Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

पूर्व नाउपाका छ जना नेता चुनावी मैदानमा, कैलाली–१ मा कसले मार्ला बाजी ?

User Image मेयरसाप डेस्क | २०८२ फागुन ७ गते १५:४७
Image of https://mayorsap.com/storage/photos/shares/naupaa-98fdaa9ajfif.crdownload

धनगढी । संगठित रुपमा लड्दा थारु समुदायका उम्मेदवारले कैलालीको क्षेत्र नम्बर १ मा लगातार तीनवटा निर्वाचनमा जीत हात पारे । तीनै पटक उम्मेदवार फरक थिए । पार्टी फरक थियो । मुद्दा एउटै थियो । त्यो थियो, थारु मुद्दा ।

त्यही मुद्दाले २०७० सालमा मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका उम्मेदवार जनकराज चौधरी ११,२९४ मत ल्याएर बिजयी भए । शिक्षण पेशा छोडेर चुनाव लडेका चौधरीसंग राजनीतिको अनुभव थिएन । तर पनि उनलाई चुनाव जित्न कठिन भएन किनकी उनलाई सिंगो थारु समुदायको साथ थियो ।

कांग्रेसका रण बहादुर रावल ९,१४० मतमा खुम्चिए । सद्भावना पार्टीबाट उनीसँग चुनाव लडेका रेशमलाल चौधरीले जमानत जोगाउन सकेनन् । रेशम २,६३८ मतमै सिमित भए । त्यसको दुई वर्षपछि २०७२ मा टीकापुर घट्ना भयो । फरार रहेकै अवस्थामा २०७४ मा क्षेत्र नम्बर १ बाट चुनाव लडेका रेशमले सबै उम्मेदवारको जमानत जफत गरिदिए ।

राष्ट्रिय जनता पार्टीका तर्फबाट चुनाव लडेका रेशम ३४,३४१ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मदन कुमारी शाह १३,४०६ मतमा सिमित भइन् । दुबैबीच २०,९३५ मतको फराकिलो अन्तर रह्यो । टीकापुर घट्नामा अदालतबाट दोषी ठहर भएका रेशमले २०७९ मा चुनाव लड्न पाएनन् । उनको ठाँउमा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट उम्मेदवार बनेकी पत्नी रञ्जिता श्रेष्ठ ३०,४०४ मतले विजयी भइन् । जबकी नेपाली कांग्रेसबाट उम्मेदवार रहेका चौधरी समुदायकै रामजनम चौधरीले १८,०८१ मत पाए ।

रञ्जिता १२,३२३ मतको फराकिलो अन्तरले विजयी हुदा एमालेले जमानत समेत जोगाउन सकेन ।एमालेका तपेन्द्र रावल ५,१९० मतमा खुम्चिए । रावलले पाएको यो मत चार वर्षअघि एमालेकी उम्मेदवार मदन कुमारी शाहले पाएको भन्दा ८ हजारले कम हो । यसरी तीन वटा चुनाव जितेको कैलाली क्षेत्र नम्बर १ मा त्यो विरासत जोगाउन यतिबेला थारु समुदायलाई सकस छ ।

सँधै निर्णायक रहेको थारु मत यस पटक विभाजित छ । पूर्व नाउपाका छ जना नेता चुनावी मैदानमा छन् । त्यो पनि फरक फरक पार्टीबाट । जसका कारण परम्परागत दलहरु उत्साही देखिन्छन् । यद्यपि ती दलहरु अन्तर्घात, भेगीय टकराव, गुटगत राजनीतिबाट बाहिर निस्किन कठिन छ । नाउपा विभाजनको उत्साहले ती दलका उम्मेदवारको उत्साह पनि स्थायी हुने देखिन्न ।

२०७९ सम्म एकढिक्का भएर थारु उम्मेदवारलाई जिताउन खटिएकाहरू यसपटक सँगै छैनन् । उनीहरु एक अर्कालाई हराउन चुनावी प्रतिस्पर्धामा छन् । एकजुट भएर चुनाव लडेका कारण २०७९ मा कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा रञ्जिता भारी मतले विजयी भइन् । प्रदेश सभामा लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले जीत हात पारे ।

त्यो बेलासम्म रेशम, रञ्जिता, रामलाल डंगौरा, प्रदीप चौधरी, दामोदर पण्डित, कोमल ज्ञवाली, विमल कुमार डंगौरा, गणेश चौधरी लगायतका नेताहरु सँगै थिए । अहिले उनीहरु प्रतिस्पधाएमा छन् । पत्नीसँगको झगडामा छुट्टै पार्टी नागरिक उन्मुक्ति नेपाली खोलेर मनोनयन दर्ता गरेका रेशमले उम्मेदवारी खारेज भएपछि फागुराम चौधरीलाई साथ दिइरहेका छन् । यसअघि स्वतन्त्र उम्मेदवारी दिएर वडाअध्यक्षमा हारेका फागुराम नै रेशमका आधिकारिक उम्मेदवार बताइन्छ ।

नागरिक उन्मुक्ति पार्टीबाट टीकापुरको मेयरमा निर्वाचित रामलाल डगौरा राजीनामा दिएर नेपाल कम्युनिष्ट पार्टीबाट क्षेत्र नम्बर १ को उम्मेदवार बनेका छन् । दामोदर पण्डितको नेतृत्वमा नाउपाको एक समूह चुनावको मुखमा राष्ट्रिय स्वतन्त्र पार्टीमा मिसिए वाफत टिकट पाएकी कोमल ज्ञवालीको मनोनयन दर्तामै रास्वपाका स्थानीय नेताहरु सहभागी भएनन् । उनले अवसर पाउँदा अन्तिम समयमा रास्वपाका प्रदेश ईञ्चार्ज प्रकाश बिष्ट टिकटबाट बञ्चित भए । बिष्ट सहित रास्वपाका नेताहरुको असन्तुष्टि अझै मत्थर भइसकेको छैन।

त्यस्तै उज्यालो नेपाल पार्टीबाट उम्मेदवार क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका नाउपाका कैलाली जिल्ला अध्यक्ष रहेका प्रदीप चौधरी । उनी मधेशी जनाधिकार फोरमबाट जानकी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । फोरम कांग्रेसमा बिलयपछि कांग्रेसमा समाहित भएका उनी त्यसपछि नाउपाको राजनीतिमा संलग्न थिए । चुनावअघि उज्यालो पार्टी छिरेका उनी चीम चुनाव चिन्ह सहित चुनावी मैदानमा छन् ।

यसैगरी हर्क साम्पाङको श्रम संस्कृति पार्टीबाट चुनाव लडेका विमल कुमार डंगौरा नाउपाको नगर कमिटिमा थिए ।

रेशमको उम्मेदवारी रद्द भएपछि क्षेत्र नम्बर १ मा १८ जना चुनावी मैदानमा छन् । थारुका नाममा राजनीति गर्दै आएका नाउपाका पूर्व छ जना नेता त उम्मेदवार छन् नै, त्यसबाहेक थारु समुदायका भगतराम डगौंरा थारु जनमत पार्टीबाट उम्मेदवार छन् । रुपा कुमारी चौधरीले आम जनता पार्टीबाट उम्मेदवारी दिएकी छन् ।

रेशम संरक्षक र रञ्जिता अध्यक्ष रहेको नाउपाले २०७९ मा चार वटा स्थानीय तहको प्रमुख र तीन वटा उपप्रमुख पदमा जीत हात पारेको थियो । त्यस्तै प्रतिनिधि सभामा कैलालीका पाँच वटा निर्वाचन क्षेत्रमध्ये ३ वटामा नाउपा बिजयी भयो । प्रदेश सभामा प्रत्यक्ष तर्फ पाँच वटा र समानुपातिक तर्फ दुई सीट जितेको नाउपा सुदूरपश्चिम प्रदेश सभामा चौथौ ठूलो शक्ति थियो । २०७८ फागुन १३ गते निर्वाचन आयोगमा दर्ता भएको नाउपा चार वर्षमै छिन्नभिन्न हुँदा यस पटकको निर्वाचनमा त्यसको लाभ भने परम्परागत दलहरुलाई हुने देखिन्छ ।

दुई वटा निर्वाचनमा परम्परागत दलहरुलाई रक्षात्मक बनाएको नाउपा यतिबेला अस्तित्वमै छैन । २०७४ मा अधिकांश उम्मेदवारहरुको जमानत जफत गरेका रेशमको यस पटक उम्मेदवारी रद्द भयो । रञ्जिता उम्मेदवार नै बनिनन् । रामलाल डगौंरालाई नेकपाबाट टिकट दिलाएकी रञ्जिता ताराको प्रचारमा छिन् ।

तर यस पटक न रेशमसंग उनकी पत्नी रञ्जिता छन्, न त रञ्जितासंग पूर्व चुनावी कमाण्डरहरु । नागरिक उन्मुक्तिका छ जना पूर्व नेताहरुनै यसपटक एक अर्कालाई चुनावमा हराउन मैदानमा होमिएका छन् । उनीहरुको यही विभाजन यस पटक टीकापुरको चुनावी इतिहास बदल्ने कारण हुने निश्चित छ ।

त्यसो त काँग्रेसभित्रको गुटगत र भेगीय लडाई साम्य भइसकेको छैन । त्यसको असर चुनावमा पर्ने निश्चित छ । हुन् त ०६४ पछि पहिलो पटक टीकापुर क्षेत्रका नेपाली काँग्रेसका नेताहरु रामजनम चौधरी, डा।रण बहादुर रावल, फकिर सिंह कडायत, जंग बहादुर साँउद, भरत कडायत, नवराज रावल लगायत अधिकांश नेताहरु मनोनयन दर्ताका क्रममा एक साथ सहभागी भए ।

तर उनीहरुको मन भने अझै मिलिसकेको छैन । सबैलाई मिलाएर लैजान सके क्षेत्र नम्बर १ मा जनक चौधरीको उपस्थिति बलियो हुनेछ । त्यो संभावना कम छ । अझ टीकापुर बजार क्षेत्रको मत जातीय हिसाबले बाडिए त्यसको लाभ नेकपा एमालेका उम्मेदवार द्वारिका प्रसाद न्यौपानेलाई हुनेछ ।

यद्यपि, ०७९ को निर्वाचनमा एमालेका उम्मेदवार तपेन्द्र रावलले पाएको ५,९०० मतमा उनले कति मत थप्न सक्छन्, त्यसले उनको भाग्य निर्धारण गर्नेछ । यसपटक बौद्धिक छविका डा.जनकराज शाह प्रगतीशील लोकतान्त्रिक पार्टीको आँखा चुनावी चिन्ह लिएर उम्मेदवार बनेका छन् । थारु र पहाडी दुबै समुदायमा घुलमिल उनले पाउने मतले पनि चुनावी परिणामलाई असर गर्नेछ । त्यसमाथि राप्रपाका उम्मेदवार लोकेन्द्र कुँवरले पनि बजार क्षेत्रका मत काट्ने अनुमान गरिएको छ ।

क्षेत्र नम्बर १ अन्तर्गत टीकापुर नगरपालिका ९ वडा, जोशीपुर गाउँपालिकाका ७, भजनीको २ र जानकी गाउँपालिकाका ५ गरी २३ वटा वडा रहेका छन् । १ लाख ८ हजार मतदातामध्ये ६० प्रतिशत मत खसेमा चुनाव जित्न २२ देखि २५ हजार मत ल्याउनुपर्नेछ । टीकापुरको बजार क्षेत्रमा पहाडी समुदायको बाहुल्यता छ । त्यसको वरीपरीको भूगोलमा थारु समुदायको बाहुल्यता छ । यस पटक टीकापुर वडा नम्बर १ को भोट निर्णायक हुने देखिन्छ । जहाँ पहाडी समुदायको बसोबास छ ।

१६ उम्मेदवारमध्ये जनक जोशीपुर क्षेत्रका एक्लो उम्मेदवार हुन् । जोशीपुर अर्का सिनियर नेता रामजनमको गृह क्षेत्र पनि हो । मधेशी जनाधिकार फोरममा सँगै चुनाव जितेका जनक र रामजनम काँग्रेसमा भने फरक समूहमा छन् । सभापति गगन थापा समूहबाट टिकट पाएका जनकलाई देउवा समूहका रामजनमले साथ दिन्छन् कि दिँदैनन्, त्यसले जोशीपुरको मात्र नभएर क्षेत्र नम्बर १ कै भोटलाई तलमाथि गर्ने देखिन्छ ।
थारु र पहाडी समुदायको भोट यस पटक एकलौटी रुपमा कुनै पनि उम्मेदवारलाई नखस्ने भएकोले उम्मेदवारहरुबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ।


Facebook Comments