रौतहटको सबगढवामा हिन्दु र मुस्लिम समुदायबीच झडप, सेनासहित ५ सय बढी सुरक्षाकर्मी परिचालन
मेयरसाप डेस्क
|
२०८२ फागुन ७ गते १५:३३
रौतहट । गौर नगरपालिका–६ स्थित सबगढवामा दुई समुदायबीच तनाव उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेनासहित ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बिहीबार राति एक हिन्दु समुदायको घरमा विवाह कार्यक्रम चलिरहेका बेला बाजा बजाउने विषयलाई लिएर विवाद सुरु भएको थियो। सबगढा गाउँमा रहेको मुस्लिम समुदायको मस्जिदमा रातिको समयमा नमाज पढ्दै गर्दा बाजा बजाइएको भन्दै दुवै पक्षबीच भनाभन भएको स्थानीय स्रोतले जनाएको छ।
भनाभनपछि मुस्लिम समुदायका केही व्यक्तिले बाजा बजाउने डिजे समूहका सदस्यहरूमाथि कुटपिट गरेको आरोप छ। सोही घटनालाई लिएर शुक्रबार बिहानदेखि पुनः दुई समुदायबीच झडप सुरु भएको हो। बिहानैदेखि दुवै पक्षबाट ढुंगामुढा हानाहान भएको बताइएको छ।
घटनापछि उक्त क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ। रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले घटनाको पुष्टि गर्दै अवस्था नियन्त्रणका लागि नेपाल प्रहरीका एसपी सिताराम रिजाल, सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी सहितको टोली घटनास्थलमा पुगेको जानकारी दिएका छन्।
प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार स्थिति नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। हाल विवाद साम्य पार्ने प्रयास जारी रहेको प्रशासनले जनाएको छ।
Facebook Comments