हेटौँडामा राजनीतिक तनाव तीव्र : रास्वपाको कार्यक्रम बिथोल्ने धम्की आएको आरोप
मेयरसाप डेस्क
|
२०८२ फागुन ७ गते २०:०१
मकवानपुर। हेटौँडामा आयोजना हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यक्रमलाई लिएर राजनीतिक वातावरण तनावग्रस्त बन्दै गएको छ। रास्वपाका स्थानीय नेताहरूले फागुन ११ गते हुने कार्यक्रम बिथोल्ने धम्की नेपाल कम्युनिष्ट पार्टी (एमाले) पक्षबाट आएको आरोप लगाएका छन्।
रास्वपाका अनुसार दाङमा हिजो एमालेको झण्डा जलाइएको घटनापछि त्यसको विरोधस्वरूप हेटौँडामा असन्तुष्टि र आक्रोश व्यक्त भइरहेको छ। यही सन्दर्भमा फागुन ११ गते रास्वपाका सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन्द्र शाह हेटौँडा आए उनीहरूलाई लक्षित गर्दै “जे पनि गर्न सकिने” भन्ने आशयका धम्कीपूर्ण अभिव्यक्ति आएको पार्टीको दाबी छ।
रास्वपाले उक्त विषयलाई गम्भीर रूपमा लिँदै शान्तिपूर्ण रूपमा कार्यक्रम सञ्चालन गर्न पाउने संवैधानिक अधिकारमाथि कुनै किसिमको अवरोध स्वीकार्य नहुने स्पष्ट पारेको छ। साथै, सम्भावित अप्रिय घटना हुन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायको ध्यानाकर्षण गराइएको जनाएको छ।
यस घटनापछि बागमती प्रदेशको राजधानी हेटौँडामा राजनीतिक सरगर्मी र तनाव बढेको देखिन्छ। उक्त आरोपबारे एमालेको आधिकारिक धारणा भने हालसम्म सार्वजनिक भएको छैन।
Facebook Comments