Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

नाइजेरियाः सशस्त्र आक्रमणमा परी कम्तीमा ३८ जनाको मृत्यु

User Image मेयरसाप डेस्क | २०८२ फागुन ८ गते १९:४३
Image of https://mayorsap.com/storage/photos/shares/naiariua.PNG

एजेन्सी । नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यको दुत्से दान अजिया गाउँमा हतियारधारी एक समूहको आक्रमणमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको स्थानीय प्रहरी र अधिकारीहरूले शनिबार एएफपीलाई बताएका छन् ।

जाम्फारा प्रहरीका प्रवक्ता याजिद अबुबकरले भने, “यो आक्रमण बिहीबारको रातदेखि शुक्रबार सम्म दुर्गम गाउँमा भएको थियो, जहाँ ‘थोरै मात्र पहुँच मार्गहरू थिए’ तर अहिले यस क्षेत्र सामान्य अवस्थामा फर्किएको छ । 

स्थानीय विधायक हामिसु फारुले आक्रमणमा ५० जनाभन्दा बढीको मृत्यु भएको आशङ्का गरेका छन् । 

उनले भने, “डाँकुहरू गान्दो जङ्गलबाट आए र दुत्से दान अजियालाई घेरा हाली अन्धाधुन्ध गोली चलाए । आक्रमणपछि भाग्न खोज्ने सबै बासिन्दाको मृत्यु भएको थियो।”

स्थानीय रूपमा ‘डाँकु’ भनिने सशस्त्र गिरोहहरू जाम्फारा, कात्सिना, कडुना, सोकोटो, केब्बी र नाइजर राज्यहरूमा फैलिएको जङ्गलमा आश्रयस्थल बनाएर बस्ने र गाउँहरूमा आक्रमण गर्ने गर्छन्।

नाइजेरियाली सेना यी समूहहरूसँग लड्न धेरै वर्षदेखि यस क्षेत्रमा तैनाथ छ, तर हिंसा जारी छ।

नाइजेरियामा हालैका महिनाहरूमा जिहादी समूह र डाँकुहरूद्वारा बढ्दो हिंसाले संयुक्त राज्य अमेरिकाको ध्यान आकर्षित गरेको छ।

हिंसालाई इसाईहरूको ‘उत्पीडन’ को रूपमा चित्रण गर्ने वाशिङ्गटनले क्रिसमसको दिन उत्तरको सोकोतो राज्यमा नाइजेरियाली अधिकारीहरूसँग समन्वय गरेर अचानक हवाई आक्रमणको आदेश दिएको छ।

सन् २००९ यता नाइजेरियामा बोको हराम र उसको प्रतिद्वन्द्वी गुट इस्लामिक स्टेट पश्चिम अफ्रिकी  क्षेत्रको नेतृत्वमा जिहादी विद्रोहले देशको उत्तरपूर्वी क्षेत्रमा ४० हजारभन्दा बढीको मृत्यु भएको छ भने २० लाख विस्थापित भएका छन् ।


Facebook Comments