दोलखाको वेदिङमा मत हाल्न गएनन् मतदाता, पर्खिँदै कर्मचारी
मेयरसाप डेस्क
|
२०८२ फागुन २१ गते १५:०८
काभ्रेपलाञ्चोक । दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित वेदिङमा अहिलेसम्म एक जना पनि मतदाता मतदानका लागि नआएपछि मतदान केन्द्रका कर्मचारी पर्खाइमै बसेका छन्।
रोल्वालिङस्थित वेदिङ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी मतदाताको प्रतीक्षामा रहेका छन्। तर दिउँसोसम्म पनि कुनै मतदाता मतदान गर्न नआएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए।
उक्त केन्द्रमा कुल ११३ जना मतदाता रहेका छन्। मतदानका लागि मतदान अधिकृतसहित ५ जना कर्मचारी र १३ जना सुरक्षाकर्मी खटिएका छन्। तर मतदातालाई मतदानमा सहभागी हुन आग्रह गर्दा पनि उनीहरूले “यो हाम्रो स्वेच्छाको विषय हो” भन्दै मतदान गर्न नआएको प्रजिअ घिमिरेले बताए।
उनका अनुसार निर्धारित मतदान समयसम्म कर्मचारीहरूले मतदाताको प्रतीक्षा गरिरहने छन्।
रोल्वालिङ हिमश्रृंखलाको काखमा रहेको वेदिङ भौगोलिक रूपमा निकै विकट हिमाली गाउँ हो। गाउँका अधिकांश मतदाता हाल काठमाडौं लगायतका सहरमा बसोबास गर्दै आएका छन्। गाउँमै रहेका केही मतदातासमेत मतदानमा सहभागी हुन इच्छुक देखिएका छैनन्।
स्थानीय मतदाताले आफ्ना समस्याबारे अहिलेसम्म कसैले ध्यान नदिएको र यसपटक कुनै उम्मेदवार मत माग्नसमेत गाउँमा नआएको गुनासो गर्दै मतदान नगर्ने निर्णय गरेका बताएका छन्।
Facebook Comments