सौगल गणेश मन्दिरमा सेतो मुसा, ‘शुभ संकेत’ हुने विश्वास
मेयरसाप डेस्क
|
२०८३ असार ३ गते १२:१५
काठमाडौं । हिन्दु धर्ममा मुसालाई गणेशको वाहन मानिन्छ र पूजा गर्ने परम्परा छ । यता, मानिसहरु घरमा ध्वंस मच्चाउने मुसा नियन्त्रण गर्न तथा मार्नका लागि अनेक विधि अपनाउँछन् ।
तर ललितपुर पाटनको सौगल गणेश मन्दिरमा नौलो दृश्य देख्न पाइन्छ । मन्दिरको मुख्यस्थानमै शिर झुकाएर पूजा गरिरहेका भक्तालुहरु गणेशको प्रतिमामा दौडिरहेका मुसा देखेर दंग पर्ने गरेका छन् ।
जसले स्थानीय भक्तजन र दर्शनार्थीहरूबीच विशेष चासो र कौतुहल पैदा गरेको छ ।
भगवान् गणेशको वाहन (वाण) मुसा गणेशकै मन्दिरमा देखिनुलाई आश्चर्यपनि मान्ने गरेका छन् । मुसा देखिनुलाई सामान्यतया धार्मिक दृष्टिले पनि शुभ मानिने प्रचलन रहेको धर्म संस्कृतिका अध्येता कृष्णदेव रुपाखेतीको भनाइ छ ।
त्यसमाथि सौगलमा देखिएको सेतो रङको मुसा दुर्लभ हुनसक्ने रुपाखेतीले बताए । स्थानीय भक्तजन र दर्शनार्थीहरूले मन्दिरमा धेरै वर्ष अगाडिदेखि नै मुसा देखिन थालेको र आफूहरुले पूजा गर्ने गरेको बताएका छन् ।
सामान्यतया हिन्दु मन्दिरहरुमा सम्बन्धित भगवानका वाणहरुको पूजा गर्ने प्रचलन रहेकाले स्थानीयबासी एवम मन्दिर व्यवस्थापन समितिले संरक्षण गरेको हुनसक्ने रुपाखेतीले अनुमान लगाए ।
सोही क्रममा पाटनको उक्त गणेश मन्दिरमा पनि सेतो मुसाको पूजा तथा संरक्षण गरिएको उनले जानकारी दिए ।
उनले भने,‘सामान्यतया हिन्दु मन्दिरहरुमा सम्बन्धित भगवानका वाणहरुको पूजा गर्ने प्रचलन छ । यसैक्रममा मुसाको पूजा तथा संरक्षण गरिएको हुनसक्छ । शिवको मन्दिरमा हामीले साँढे देख्छौं त्यसरी नै गणेशको मन्दिरमा मुसा देखिनु अनौठो होइन् । सेतो मुसालाई शुभ पनि मानिन्छ ।’
सेतो मुसा निकै दुर्लभ पनि मानिन्छ । यसलाई अलौकिक, चमत्कारिक र भाग्यको प्रतीकका रूपमा हेरिन्छ । मन्दिर परिसरमा सेतो मुसा वा सामान्य मुसालाई पनि विघ्नहर्ता गणेशको दूत वा स्वरूप मानिने हुनाले स्थानीय भक्तजनहरूले तिनलाई सम्मान गर्ने र पूजा अर्चनासमेत गर्ने गरेका छन् ।
सौगल गणेश मन्दिर पाटन क्षेत्रको ऐतिहासिक र सांस्कृतिक रूपमा महत्वपूर्ण धार्मिक स्थल हो। यहाँ वर्षभरि भक्तजनको भीड लाग्ने गर्छ। यस्तो अवस्थामा मन्दिर परिसरमा देखिएको सेतो मुसाले धार्मिक आस्था र लोकविश्वाससँग जोडिएको चर्चा थप बढाएको छ ।
Facebook Comments