काठमाडौँ उपत्यका बर्ड फ्लु को ‘हट स्पट’, कुखुरामा मात्र होइन चराचुरुङ्गी र जीवजन्तुमा पनि पुष्टि

देशका १२ जिल्लामा फैलियो, तीन महिनादेखि किन भएको छैन नियन्त्रण ? अण्डा राख्ने क्रेटदेखि दानाको बोराबाट पनि सर्न सक्छ

User Image मेयरसाप डेस्क | २०८३ असार ५ गते १२:२८
Image of https://mayorsap.com/storage/photos/shares/bird-flu.png

काठमाडौं उपत्यका बर्ड फ्लुको हट स्पट बनेको छ । यहाँ कुखुरामा मात्र नभएर चराचुरुङ्गी र जीवजन्तुमा समेत बर्ड फ्लु पुष्टि भएपछि अवस्था चिन्ताजनक बनेको हो । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानाका जीवजन्तुमा बर्ड फ्लु पुष्टि भएपछि चिडियाखाना समेत अहिले बन्द गरिएको छ ।

नेपालमा बर्ड फ्लु देखिएको तीन महिना बितिसक्दा नियन्त्रणमा आउनुको साटो झनै फैलिँदै गएको देखिन्छ । पशु सेवा विभागका अनुसार गत चैत्र ६ गते कोसी प्रदेशको मोरङको सुन्दरहरैँचा–४ र उर्लाबारी–८ मा पुष्टि भएको थियो ।

मोरङबाट सुरु भएको संक्रमण अहिले सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, बारा, महोत्तरी र नवलपरासी पश्चिमसम्म फैलिसकेको छ। 

बर्ड फ्लु नियन्त्रणका लागि ५ लाखभन्दा बढी कुखुरा, १० लाख ५० हजार अण्डा र २ लाख ५० हजार किलो कुखुराको दाना नष्ट गरिसकिएको विभागले जनाएको छ । तर काठमाडौं उपत्यकामा कुखुरामा मात्र नभएर चराचुरुङ्गीमा समेत बर्ड फ्लु देखिएकाले नियन्त्रणमा कठिनाइ भएको देखिन्छ ।

यता सदर चिडियाखानाका जिवजन्तुमा समेत बर्ड फ्लु पुष्टि भएपछि नयाँ विवाद चुलिएको छ। बर्ड फ्लु देखिएको जानकारी समयमै सार्वजनिक नगरेको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साहमाथि छानबिन सुरु भएको छ।

असार ३ गते नै बर्ड फ्लु पुष्टि भएपनि असार ५ गते मात्र चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको सूचना सार्वजनिक गरियो। यही विषयलाई लिएर राष्ट्रिय प्रकृति संरक्षण कोषले छानबिन प्रक्रिया अघि बढाएको हो।

सरुवा रोग विशेषज्ञ डाक्टरहरुका अनुसार बर्ड फ्लु चराको बिस्टा र ¥याल, मासु, प्वाँख, सिँगान, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेको बोरा आदिको सम्पर्कबाट सर्न सक्छ । बर्ड फ्लु नियन्त्रण गर्न कठिनाइ भइरहेकाले मानिस आफैंले पनि अधिकतम सावधानि अपनाउनुपर्ने देखिएको छ । 


Facebook Comments