मन्त्रीदेखि सचिवालयसम्म ठूलो हेरफेर गर्दै बालेन शाह, ५ मन्त्री–४ टिम मेम्बर हटाउँदै (भिडियोसहित)

User Image मेयरसाप डेस्क | २०८३ असार १६ गते १२:३७
Image of https://mayorsap.com/storage/photos/shares/balen-new-f8a9dd1c.jpg

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह सरकारभित्र व्यापक पुनर्गठनको तयारीमा जुटेका छन्। कार्यसम्पादन मूल्यांकनका आधारमा मन्त्री हटाउनेदेखि आफ्नै सचिवालय समेत पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारीले अहिले सत्ता राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अहिले सरकारको सय बुँदे कार्ययोजनाअनुसार सबै मन्त्रालयको प्रगति विवरण संकलन गरिरहेको छ। असार मसान्तभित्र कार्यसम्पादन मूल्यांकन सार्वजनिक हुने तयारी छ, र यही रिपोर्टले धेरै मन्त्रीको राजनीतिक भविष्य तय गर्न सक्ने बुझिएको छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार सय बुँदे लक्ष्य पूरा गर्न नसक्ने र कार्यसम्पादन कमजोर देखिएका मन्त्रीहरूलाई हटाउने विषयमा प्रधानमन्त्री स्पष्ट छन्।

स्रोतका अनुसार स्वास्थ्यमन्त्री निशा मेहता, कृषिमन्त्री गीता चौधरी, उद्योगमन्त्री गौरीकुमारी यादव, सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिन, महिला तथा बालबालिका मन्त्री सीता वादी लगायतको काममा प्रधानमन्त्री बालेन शाह असन्तुष्ट रहेको स्रोतले जनाएको छ । अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि प्रधानमन्त्रीको केही मतभेद देखिए पनि उनीहरू भने तत्काल परिवर्तन हुने सम्भावना कम छ ।

यसबीच रास्वपाभित्र नयाँ अनुहारलाई मन्त्री बनाउने तयारी पनि भइरहेको छ। केही सांसदलाई मन्त्री बनाउने विषयमा आन्तरिक छलफल चलिरहेको छ । मन्त्रीमा गणेश पराजुली र समीक्षा बास्कोटालगायतका नाम चर्चामा रहेको बताइएको छ।

यता प्रधानमन्त्री निकटका व्यक्तिको समेत जिम्मेवारी हेरफेर हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनपछि प्रधानमन्त्रीका केही निकट सहयोगी पार्टीको पदाधिकारी र केन्द्रीय समितिमा पुगेका छन्। त्यसैले उनीहरूलाई अब सरकारबाट पार्टी संगठनमा फर्काउने तयारी भइरहेको बताइएको छ।

महाधिवेशनबाट प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह सह–महामन्त्री निर्वाचित भएका छन् भने नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र स्वकीय उपसचिव प्रकृति ढकाल केन्द्रीय सदस्य बनेका छन्। उनीहरूलाई सचिवालयबाट बिदा गरेर पार्टीको जिम्मेवारीमा केन्द्रित गराउने तयारी रहेको स्रोतको दाबी छ।

यति मात्र होइन, राहदानी छपाइ ठेक्का प्रकरणमा असीम शाह र सुदीप ढकालको भूमिकामाथि प्रश्न उठेको र सुवास शर्माको कार्यशैलीप्रति पनि प्रधानमन्त्री सन्तुष्ट नरहेको बुझिएको छ ।

यही कारण प्रधानमन्त्री शाह अहिले सचिवालयलाई नयाँ ढंगले पुनर्गठन गर्ने गृहकार्यमा जुटेका छन् । काम गर्न सक्ने, परिणाम दिन सक्ने र प्रशासनिक अनुभव भएका व्यक्तिहरूलाई जिम्मेवारी दिने सोचका साथ केही अवकाशप्राप्त पूर्वसचिव र विज्ञहरूसँग समेत छलफल भइरहेको स्रोतको दाबी छ । 


Facebook Comments