मन्त्रीको निर्देशनपछि क्षणभरमै नियम संशोधन, अब पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

User Image मेयरसाप डेस्क | २०८३ असार १६ गते १२:४३
Image of https://mayorsap.com/storage/photos/shares/photos-c59a7b0b.png

काठमाडौं । देशभर कृत्रिम रूपमा इन्धन अभाव सिर्जना गर्ने पेट्रोलपम्प सञ्चालकविरुद्ध सरकारले कडा कदम चालेको छ। उचित कारणबिना पेट्रोलपम्प बन्द गर्ने वा नोजल ड्राई बनाएर उपभोक्तालाई इन्धन नदिने व्यवसायी अब लाखौँ रुपैयाँ जरिवाना मात्रै होइन, इन्धन आपूर्ति नै रोक्का हुने कारबाहीमा पर्ने भएका छन्।

मंगलबार पेट्रोलियम व्यवसायीहरूले मूल्य घट्ने अनुमान गर्दै आयल निगमको डिपोबाट इन्धन नै नउठाएपछि बुधबार देशभर धेरै पेट्रोलपम्पमा इन्धन अभाव देखिएको थियो। अधिकांश पेट्रोलपम्प बन्द थिए । खुला भएका पम्पमा सर्वसाधारण लामो लाइनमा बस्न बाध्य भएका थिए । 
तर यस्तो अवस्थामा व्यवसायीमाथि तत्काल कारबाही गर्न स्पष्ट कानुनी आधार नभएको पाइएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बुधबार साँझ नै नयाँ कानुनी व्यवस्था गर्न निर्देशन दिएकी थिइन्।

मन्त्रीको निर्देशनलगत्तै नेपाल आयल निगमको सञ्चालक समितिको आकस्मिक बैठक बसेर पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ संशोधन गरियो। संशोधित व्यवस्थामा ‘बिक्रेताले नोजल ड्राई गरी पेट्रोलियम पदार्थ नपाउने अवस्था सिर्जना गर्न नहुने’ भन्ने नयाँ प्रावधान थपिएको छ।
संशोधित विनियमावलीअनुसार अब कुनै पनि पेट्रोलपम्पले जानाजानी नोजल ड्राई बनाएर पेट्रोलियम पदार्थ नपाउने अवस्था सिर्जना गरे पहिलो पटक ३ लाख रुपैयाँ जरिवाना तिर्नुपर्नेछ। साथै ५ दिनसम्म निगमको डिपोबाट पेट्रोल र डिजेल आपूर्ति पनि रोक्का गरिनेछ।

यदि दोस्रो पटक पनि त्यही कसुर दोहोरियो भने ६ लाख रुपैयाँ जरिवानासँगै १० दिनसम्म इन्धन आपूर्ति बन्द गरिनेछ।

तेस्रो पटक पनि नियम उल्लंघन गरे १० लाख रुपैयाँ जरिवाना तिर्नुपर्नेछ भने १५ दिनसम्म निगमबाट इन्धन नै उपलब्ध गराइने छैन।
यससँगै अब कुनै पनि पेट्रोलपम्पले उचित कारणबिना इन्धन बिक्री बन्द गरेर कृत्रिम अभाव सिर्जना गरे कडा आर्थिक कारबाही र इन्धन आपूर्ति रोक्का दुवै सामना गर्नुपर्नेछ।

सरकारको यो निर्णयसँगै अब इन्धन अभाव देखाएर उपभोक्तालाई सास्ती दिने व्यवसायीमाथि कानुनी कारबाहीको बाटो खुलेको छ।


Facebook Comments