यही मंगलबार शेरबहादुर देउवा नेपाल फर्किँदै, एयरपोर्टबाटै पक्राउ पर्ने चर्चा, यस्तो छ प्रहरीको तयारी
मेयरसाप डेस्क
|
२०८३ साउन २३ गते १२:०२
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आगामी २६ गते मंगलबार नेपाल फर्किने भएका छन् । जेनजी आन्दोलनका क्रममा घाइते भएपछि उपचारका लागि गत फागुन १३ गते सिंगापुर प्रस्थान गरेका देउवा साउन २६ गते राति ९ः४५ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम तय भएको हो ।
फागुन २१ को निर्वाचनमा समेत मतदान नगरी सिंगापुर गएका देउवा चैत ७ गतेदेखि हङकङमा रहँदै आएका थिए । देउवा नेपाल फर्किने खबरसँगै उनको सम्भावित पक्राउलाई लिएर चर्चा सुरु भएको छ ।
देउवा दम्पत्ति विदेशमै रहेका बेला उनीहरूविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको थियो । तर सर्वोच्च अदालतले प्रक्रियागत त्रुटि देखाउँदै अन्तरिम आदेश जारी गरी उक्त पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
देउवा दम्पत्तिविरुद्ध इन्टरपोल रेड नोटिस पनि जारी भएको छैन । त्यसैले हालको अवस्थामा उनी नेपाल फर्किँदा कानुनी रूपमा पक्राउ पर्ने स्पष्ट आधार भने देखिँदैन ।
तर पछिल्लो समय सरकारले विभिन्न व्यक्तिलाई पक्राउ गर्दै आएको अवस्थामा देउवा विमानस्थलबाटै पक्राउ पर्न सक्ने आशंका पनि व्यक्त भइरहेको छ ।
यही विषयमा नेपाल प्रहरीका प्रवक्तालाई सञ्चारकर्मीले प्रश्न गरेका थिए । तर प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले स्पष्ट जवाफ दिएनन् ।उनले भनेका छन्, ‘हामी हेर्दैछौँ, अझै केही दिन बाँकी नै छ।’
Facebook Comments