लेखा समितिको सवाल–जवाफपछि खगेन्द्र झनै आक्रोशित, आइजिपीलाई दिए कडा प्रतिउत्तर
मेयरसाप डेस्क
|
२०८३ साउन २९ गते ११:२७
रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीको जवाफमा कडा प्रतिउत्तर दिएका छन् ।सार्वजनिक लेखा समितिमा भएको सवाल–जवाफपछि सामाजिक सञ्जालमार्फत सुनारले बर्दी र फुली देखाएर धम्क्याउँदैमा विषय नसकिने बताएका हुन्।
उनले मुद्दा लागेको व्यक्तिले बयान दिने हो, प्रवचन दिने होइन भन्दै कटाक्ष समेत गरेका छन्। सुनारले ‘बिरालोको घाँटीमा घण्टी बाँध्ने जोखिम कसैले न कसैले लिनैपर्छ’ भन्दै जस्तोसुकै मूल्य चुकाउन आफू तयार रहेको बताएका छन्।
उनले प्रहरी र दुःखमा साथ दिने म्यादी प्रहरीको पक्षमा आफू सदैव रहेको दाबी गर्दै गरिबका छोरा–छोरी म्यादी, सिपाही र हवल्दार बनेको र तीनीहरुकै जुत्ता, मोजा, रासनलगायत खरिदमा अरबौँको अनियमितताको गम्भीर प्रश्न उठेको उनको भनाई छ ।
सुनारले राज्यमा एक हजार अर्बभन्दा बढी बेरुजु रहेको र भ्रष्टाचार तथा अनियमितताका असंख्य काण्ड रहेको दाबी गरेका छन्। जनताको पक्षमा बोल्दा आफूले अझै धेरै तितो कुरा बोल्न बाँकी रहेको उनको भनाइ छ।
बुधबार लेखा समितिमा निर्वाचन प्रहरीको पोसाक खरिदमा भ्रष्टाचार भएको आरोप लगाउँदै सुनारले आइजिपी कार्कीमाथि छानबिन गर्नुपर्ने बताएका थिए।
जवाफमा आइजिपी कार्कीले आफूले निष्ठापूर्वक काम गरिरहेको भन्दै समितिमा ल्याएर चरित्रहत्या गर्ने र जे मन लाग्यो त्यही भन्न नमिल्ने बताएका थिए।
कार्कीले आवश्यक परे ‘नेमिङ, सेमिङ, ब्लेमिङ र गेमिङ’ गर्न आफूहरूलाई पनि आउने चेतावनी दिएका थिए। यही सवाल–जवाफपछि सांसद सुनार र आइजिपी कार्कीबीचको जुहारी थप चर्चामा आएको छ।
Facebook Comments