८३ जनाको अनौठो परिवार: एकै दिनमा पाक्छ ५० किलो चामल, हरेक आइतबार चाहिन्छ सिङ्गै भेडा
मेयरसाप डेस्क
|
२०८३ साउन २९ गते १२:३७
भारतको आन्ध्र प्रदेशस्थित अनन्तपुर जिल्लामा एउटा यस्तो परिवार छ, जहाँ एउटै घरमा ८३ जना सदस्य बस्छन्। यो परिवारको भान्सामा एक दिनको खानाका लागि मात्रै ५० किलो चामल चाहिन्छ। आइतबार मासु खाने दिन सिङ्गै भेडा काटिन्छ भने पकौडा बनाउन १५ किलो पिठो लाग्छ। चाडपर्वका बेला भने त्यतिले पुग्दैन । २ वटा भेडा र २० किलो कुखुरा चाहिन्छ ।
छ पुस्तादेखि सँगै बस्दै आएको यो परिवार कुर्लापल्ली गाउँमा बस्छ। परिवारका लागि अहिले तीनवटा घरसमेत अपुग भएका छन् र चौथो घर निर्माण भइरहेको छ।
यो विशाल परिवारको मुख्य आम्दानीको स्रोत कृषि हो। परिवारका सदस्यहरू मिलेर खेतमा बाली लगाउँछन्, गाई र भेडा पाल्छन्। कोही खेतीमा जान्छन्, कोही पशुपालन गर्छन् भने महिलाहरू घरको भान्सामा व्यस्त हुन्छन्। परिवारका ३२ जना बालबालिका विद्यालय र कलेजमा अध्ययनरत छन्। परिवारका मुखिया हनुमन्त रायडू र मुत्यालप्पाले बिहान चिया पिउँदै सबै सदस्यको काम बाँडफाँट गर्छन्। कसले खेतमा जाने, कसले पशु हेर्ने र कसले बजारमा उत्पादन पु¥याउने भन्ने निर्णय उनीहरूले गर्छन्।
६ जना सासू र १४ जना बुहारी भएको यो परिवारका महिलाहरुबीच आजसम्म झगडा समेत भएको छैन ।
यो परिवारमा ८३ जनाका लागि एउटै भान्सा छ। आजसम्म पनि दाउरा बालेर खाना पकाइन्छ। सबैका लागि एउटै प्रकारको भात, दाल र तरकारी तयार हुन्छ।
परिवारका सदस्यहरूका अनुसार विगतमा चरम गरिबी भोगे पनि सबैजना एकजुट भएर मेहनत गरेकै कारण आजको अवस्थामा पुगेका हुन्। उनीहरूसँग अहिले ७५ एकडभन्दा बढी जमिन र चारवटा बससमेत छन्।
Facebook Comments