जेनजी आन्दोलनमा पक्राउ परेका युवाहरूको मुद्दा फिर्ता लिने तयारी, छुट्टै समिति बनाएर अध्ययन

User Image मेयरसाप डेस्क | २०८३ साउन २९ गते १२:५१
Image of https://mayorsap.com/storage/photos/shares/aandolan.png

जेनजी आन्दोलनका बेला पक्राउ परेका युवाहरूमाथि लागेका मुद्दा फिर्ता लिनेबारे सरकारले आन्तरिक गृहकार्य र अध्ययन सुरु गरेको छ । तत्कालीन सरकारले कानुनको कठघरामा उभ्याएका युवाहरुलाई प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले मुद्दा फिर्ता गर्ने बाटो खोज्न थालेको हो ।

गत वर्षको जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्तिहरूको मुद्दा फिर्ता हुने संकेत देखिएको छ । सरकारले अहिले ती मुद्दा फिर्ता गर्ने सम्भावना अध्ययन गरिरहेको छ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा गृहसचिव राजकुमार श्रेष्ठले यसबारे जानकारी दिएका हुन् ।

समिति सभापति समीक्षा बास्कोटाले आन्दोलनका क्रममा सरकारले गरेका सहमति र पक्राउ परेकाहरूको अवस्थाबारे प्रश्न उठाएपछि गृहसचिव श्रेष्ठले अहिले छुट्टै समिति बनाएर अध्ययन भइरहेको खुलासा गरेका छन् । आन्दोलनका क्रममा कतिवटा मुद्दा दर्ता भएका छन्, ती मुद्दा कुन अवस्थामा छन् र कानुनी रूपमा कसरी फिर्ता लिन सकिन्छ भनेर अध्ययन भइरहेको बताइन्छ ।

गृहसचिव श्रेष्ठका अनुसार, प्रतिवेदन तयार भएपछि त्यसैका आधारमा सरकारले अन्तिम निर्णय लिनेछ । अर्थात्, अहिले मुद्दा फिर्ता भइसकेको होइन, तर त्यसको ढोका खुला राखेर कानुनी गृहकार्य भइरहेको छ । समितिले प्रतिवेदन तयार पारेर सिफारिस गरेपछि मात्रै सरकारले मुद्दा फिर्ताबारे औपचारिक निर्णय लिने बताइएको छ । यो खबरले आन्दोलनका क्रममा पक्राउ परेका युवा र तिनका परिवारमा खसीयाली छाएको छ ।


Facebook Comments