कुरा नमिलेपछि छुट्टिए धवल र प्रसाईँ, अलग–अलग पार्टी खोल्ने तयारी
११ बुँदे सहमति माछोमाछो भ्यागुतो, शुक्रबार नै पार्टी दर्ता गर्ने घोषणा !
मेयरसाप डेस्क
|
२०८३ साउन २९ गते १२:५६
राजसंस्था फर्काउने भनेर एउटै डुंगामा चढेका धवलशमशेर राणा र दुर्गा प्रसाईं अन्तिम घडीमा आ–आफ्नै डुंगा बनाउन निस्किएका छन् । अर्थात् कुरा नमिलेपछि निर्वाचन आयोगमा दल दर्ता नहुँदै धवल र प्रसाई छुट्टिएका छन् ।
केही साताअघि मात्रै धवलशमशेर राणा र दुर्गा प्रसाईंले एउटै राष्ट्रवादी शक्ति बनाउने भन्दै ११ बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए । नयाँ पार्टी बनाउने, राजावादी शक्ति एक ठाउँमा ल्याउने, हिन्दु अधिराज्यको एजेन्डा उठाउने भनेर सार्वजनिक घोषणा नै भएको थियो । पार्टीको नामदेखि विभागसम्मको गृहकार्य पनि सुरु भएको थियो ।
दुई पक्षले जय नेपाल पार्टी गठन गर्ने सहमति गरेको थियो । सभापति राणा र सर्वोच्च नेतामा प्रसाईं हुनेगरी बनेको सहमति दल दर्ता नहुँदै भंग भएको छ । दुवै जनाले अलग–अलग पार्टी गठन गर्ने तयारीमा जुटिसकेका छन् । धवलशमशेर शुक्रबार नै निर्वाचन आयोग पुगेर जय नेपाल नामको छुट्टै पार्टी दर्ता गर्ने तयारीमा रहेको बुझिएको छ । उता दुर्गा प्रसाईंले पनि सामाजिक सञ्जालमार्फत आफ्नो पार्टी छिट्टै आउने घोषणा गरेका छन् ।
दुर्गा प्रसाईंले अब बन्ने पार्टी सबै नेपालीको साझा पार्टी हुने दाबी गरेका छन् । पीडित, शोषित, उत्पीडित, लघुवित्तका पीडित, सहकारीका पीडित, मिटरब्याजका पीडित सबैको आवाज बन्ने उनको भनाइ छ । उनले राजालाई साक्षी राखेर नागरिकका मुद्दा उठाउने पनि बताएका छन् ।
Facebook Comments