जेनजी आन्दोलनका सहिद परिवार र घाइतेका लागि ५० लाखसम्म ऋण दिने, कस्ता व्यवसायका लागि मिल्छ कर्जा?

User Image मेयरसाप डेस्क | २०८३ साउन ३१ गते १३:०२
Image of https://mayorsap.com/storage/photos/shares/artha.jpg

जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई लक्षित गर्दै सरकारले महत्वपूर्ण व्यवस्था गरेको छ। अब उनीहरूले स्वरोजगार तथा उद्यम सञ्चालनका लागि ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा पाउने भएका छन्।

अर्थ मन्त्रालयले शुक्रबार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी दोस्रो संशोधन कार्यविधि, २०८३’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। संशोधित कार्यविधिमा पहिलो पटक जेनजी आन्दोलनका सहिद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ।

कार्यविधिअनुसार जेनजी आन्दोलनका सहिद परिवार वा घाइतेलाई अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउन सकिनेछ।

तर यसका लागि सहिद परिवार वा घाइते भएको कुरा नेपाल सरकार वा कानुनबमोजिम तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ। 

कार्यविधिअनुसार आन्दोलनमा सहिद भएको व्यक्तिको पति वा पत्नी, छोरा, छोरी, बाबु वा आमालाई सहिद परिवार मानिनेछ।

त्यस्तै, यो सहुलियतपूर्ण कर्जा कृषि तथा पशुपन्छी व्यवसाय, घरेलु तथा साना उद्योग, सेवा व्यवसाय, सूचना प्रविधिमा आधारित व्यवसाय, पर्यटन, उत्पादनमूलक उद्योग र स्टार्टअप उद्यम सञ्चालनका लागि प्रयोग गर्न सकिनेछ ।

सरकारको यो व्यवस्थाको मुख्य उद्देश्य भनेको जेनजी आन्दोलनबाट प्रभावित सहिद परिवार तथा घाइतेलाई स्वरोजगार र उद्यमशीलतामार्फत आर्थिक रूपमा सबल बनाउनु हो।


Facebook Comments