१५ वर्षीया छात्रालाई अश्लिल म्यासेज, ४६ वर्षीय प्रिन्सिपल पक्राउ
लगातार ६ महिनादेखि रातिराति पठाउँथे यस्तो अश्लिल सन्देश
मेयरसाप डेस्क
|
२०८३ साउन ३१ गते १२:२७
पश्चिम नवलपरासीमा आफ्नै विद्यार्थीलाई अश्लील भाव झल्किने सन्देश पठाएको आरोपमा एक विद्यालयका प्रिन्सिपल पक्राउ परेका छन्। सुस्ता–१, सिङाहास्थित न्यू लाइफ इङ्ग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल ४६ वर्षीय भरत न्यौपानेलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।
प्रहरीका अनुसार विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्रालाई फेसबुक म्यासेन्जरमार्फत अश्लील भाव झल्किने सन्देश पठाएको आरोप न्यौपानेमाथि लागेको छ।
घटनापछि पीडित पक्षले प्रहरीमा जाहेरी दिएको थियो। जाहेरी परेपछि इलाका प्रहरी कार्यालय बेलाटारीको टोलीले न्यौपानेलाई शनिबार राति पक्राउ गरेको हो। न्यौपानेले विगत ६ महिनादेखि राति राति अश्लील भाव झल्किने म्यासेज पठाउने गरीको समेत पीडित पक्षको आरोप छ ।
इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक रेशमलाल पौडेलका अनुसार पक्राउ परेका न्यौपानेलाई अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।
यो घटना सामाजिक सञ्जालमा समेत चर्चामा आएको छ। प्रहरीका अनुसार घटनासँग सम्बन्धित म्यासेज सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना बाहिर आएको थियो ।
विद्यालयजस्तो संवेदनशील ठाउँमा विद्यार्थीको सुरक्षासँग जोडिएको यो घटनाले शिक्षक तथा विद्यालय प्रशासनको जिम्मेवारी र विद्यार्थीको सुरक्षामाथि पनि गम्भीर प्रश्न उठाएको छ।
Facebook Comments