सरकार र म्यानपावर व्यवसायीबीच सहमति, रोकियो आन्दोलन

User Image मेयरसाप डेस्क | २०८३ भदौ ०१ गते १३:३१
Image of https://mayorsap.com/storage/photos/shares/screenshot-2026-08-17-133034.png

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र सरकारबीच सहमति भएको छ । संघले साउन २९ गतेदेखि १५ बुँदे माग राख्दै चरणबद्ध संघर्षका कार्यक्रम अघि बढाएको थियो।

संघ र युवा, श्रम तथा रोजगार मन्त्रालयबीच भएको छलफलपछि सरकारले व्यवसायीका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै आन्दोलन रोकिएको छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता पिताम्बर घिमिरेले हस्ताक्षर गरेको पत्रमा व्यवसायीले उठाएका १५ बुँदे मागमध्ये अधिकांश नीतिगत विषय रहेको उल्लेख छ।

ती मागहरू वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश भइरहेका मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन ऐन तथा नियमावली संशोधनको प्रक्रिया यथाशीघ्र टुंग्याउन मन्त्रालय र संघले अधिकतम प्रयास गर्ने सहमति भएको पत्रमा उल्लेख छ।

व्यवसायीहरूले आफ्ना मागसँग सम्बन्धित प्रमाण तथा कागजातसहित वैदेशिक रोजगार विभागमा विषयवस्तु पेस गर्न सक्ने र आवश्यक प्रशासनिक सहजीकरण विभागले गर्ने पनि मन्त्रालयले जनाएको छ। विभागबाट समाधान नभएमा पुनः मन्त्रालयमा निवेदन दिन सकिने व्यवस्था रहेको मन्त्रालयको भनाइ छ।

सरकारले आगामी दुई महिनाभित्र विभागीय सुधार तथा नीतिगत निर्णय अघि बढाउने प्रतिबद्धता जनाएको संघले उल्लेख गरेको छ। त्यस अवधिमा भएका प्रगतिको निरन्तर निगरानी, समन्वय र समीक्षा गर्ने पनि सहमति भएको छ।

 


Facebook Comments