बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
नगरपालिकाभर आज शोक बिदा


जनकपुरधाम । सर्लाहीको बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष केशव झाको ८५ वर्षको उमेरमा आज निधन भएको छ । एक सातादेखि निमोनिया र श्वासप्रश्वाससम्बन्धी रोगबाट ग्रसित उहाँको उपचारका क्रममा आज निधन भएको उहाँका भतिजा नरेश झाले जानकारी दिए ।
समाजसेवी तथा कुशल राजनीतिज्ञ झा पञ्चायतकालदेखि राजनीतिमा सक्रिय थिए। विसं २०५६ मा बलरा गाविस अध्यक्ष पदमा निर्वाचित भएका उनि विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बलरा नगरपालिका–४ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । झाका श्रीमती, एक छोरा र चार छोरी छन् ।
झाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै बलरा–४ मा आज शोक बिदा दिएको वडाध्यक्ष मणिभूषण सिंहले जानकारी दिए। सिंहद्वारा जारी सार्वजनिक सूचनामा वडाभित्रका सम्पूर्ण सरकारी कार्यालय, संस्था तथा विद्यालय आज बन्द गर्ने निर्णय भएको उल्लेख छ । मृदुभाषी स्वभावका झाको निधनले कुशल राजनीतिज्ञ र समावसेवीे गुमाएको उनले बताए ।
यसैबीच, सङ्घीय सांसद अमरेशकुमार सिंहले आज एक शोक सन्देश जारी गर्दै बलरा–४ का पूर्ववडाध्यक्ष, कुशल समाजसेवी एवं राजीतिज्ञ झाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा धेर्यधारण गर्ने क्षमता प्राप्त होस् भन्ने कामना गरेका छन् ।
Facebook Comments