Ad Image

सर्लाहीका तीन दर्जन परिवारले निगुरो टिपेर मनग्य आम्दानी गर्दै

No Author Assigned | १० महिना अगाडि
Image of storage/news/1724568965.jpg

सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तियाका तीन दर्जनभन्दा बढी परिवारले वनबाट निगुरो टिपेर मनग्य आम्दानी गरिरहेका छन्। विगत १० वर्षदेखि स्थानीयहरूले चैतदेखि असोजसम्म गाउँ नजिकैको डाँफे सामुदायिक वनमा उम्रिएको निगुरो टिपेर बेच्दै आएका छन्।

 

मूर्तिया निवासी सविता कुशवार दैनिक दुई घण्टा निगुरो टिप्न वन जान्छिन्। उनले दिनमा ३० देखि ३५ मुठा निगुरो संकलन गरी, प्रतिमुठा २५ रुपैयाँमा बिक्री गर्दै दिनको सात सय रुपैयाँसम्म कमाउने बताइन्।

 

त्यसैगरी, स्थानीय दीपक लामाले घरका सबै उमेर समूहका व्यक्तिहरू वनमा निगुरो टिप्न जाने गरेको र यो आम्दानीको राम्रो स्रोत बनेको बताए। कर्णबहादुर कुशवारले पनि विगत सात वर्षदेखि निगुरो टिपेर दैनिक ५० मुठासम्म संकलन गरेको र यसको मूल्य स्थिर रहेको बताए।

गाउँका बुढापाका र बालबालिकासमेत निगुरो टिप्न वन पस्ने गरेका छन्। स्थानीय फूलमाया तामाङले दैनिक सात सय रुपैयाँसम्मको निगुरो टिपेर बेच्ने गरेको बताइन्। स्थानीय नानीमैया कार्कीले निगुरो बेचेर संकलित पैसाले औषधि उपचारमा सहयोग पुगेको र आपतकालीन अवस्थामा आर्थिक समस्या हल भएको बताइन्।

 

निगुरो संकलन र काठमाडौँ बजारसम्म पुर्‍याउने कार्य सुनिता महतो र उनका श्रीमान् धनेश्वर महतोले गर्दै आएका छन्। धनेश्वर महतोका अनुसार यस क्षेत्रबाट दैनिक १२ देखि १५ बोरा निगुरो काठमाडौँ पुर्‍याइन्छ, जसमा करिब १,००० मुठा निगुरो हुन्छ।