हुप्सेकोट गाउँपालिकामा छोरी जन्मेपछि पाँच हजार रुपैयाँ बैंक खातामा उपहार
No Author Assigned | १० महिना अगाडि
हुप्सेकोट गाउँपालिकाले छोरी जन्मेपछि पाँच हजार रुपैयाँ सहितको बैंक खाता उपहार दिने कार्यक्रम सञ्चालन गरेको छ। यो कार्यक्रम छोरीप्रति सम्मान, आत्मनिर्भरता विकास, र भ्रुण हत्या रोक्नका लागि सुरु गरिएको हो।
आव। २०७७/७८ देखि लागू गरिएको ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रमअन्तर्गत चार वर्षमा २५६ जना बालिकाहरूको बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा गरिएको छ। पालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले यो रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग हुने अपेक्षा सहित वचत गर्ने बानीको विकासका लागि कार्यक्रम सञ्चालन गरिएको बताइन्।
प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पराजुलीका अनुसार, यो कार्यक्रमपछि छोरी जन्माउने अभिभावकहरूले शिशुको नामकरणपछि समयमै जन्मदर्ता गराउँदै बैंक खाता खोल्न जुट्ने गरेका छन्।गत आर्थिक वर्षसम्म २५६ जना बालिकाहरूको बैंक खातामा जम्मा गरिएको कुल रकम १२ लाख ८० हजार रुपैयाँ रहेको छ। कार्यक्रमले गर्भ परीक्षण, अस्पतालमा सुत्केरी हुने, र समयमै जन्मदर्ता गराउनेजस्ता सकारात्मक बानीहरूलाई प्रोत्साहन गरेको पनि पराजुलीले बताए।