Ad Image

उपमेयर सुनिताले गरिन मेयर बालेनको कार्यशैलीमाथि प्रश्न

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1725347252.png

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरको ३५ औं कार्यपालिका बैठकमा  मेयर बालेन शाहको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएकी छन्। नदी किनारका दुबैतर्फ थप २० मिटर मापदण्ड कायम गर्न सर्वोच्च अदालतले गरेको फैसलापछि महानगरले जारी गरेको सूचनाबारे उनले असन्तुष्टि व्यक्त गरेकी हुन्।

 

सर्वोच्च अदालतले हालै मात्र नदी किनारको दुबैतर्फ २०/२० मिटर मापदण्ड तोक्ने फैसला गरेपछि, काठमाडौं महानगरपालिकाले सूचनामार्फत भवन निर्माण रोक्का गरेको थियो। तर, उपमेयर डंगोलले उक्त निर्णय कार्यपालिकाको बैठकमा छलफल नगरी एकतर्फी रूपमा गरिएको भन्दै मेयर बालेनमाथि प्रश्न गरिन्।

 

डंगोलले भनिन्, "अदालतको फैसला पालना गर्नु हाम्रो दायित्व हो, तर त्यसलाई कार्यान्वयन गर्ने प्रक्रिया महत्वपूर्ण हुन्छ। यस्तो संवेदनशील विषयमा बोर्ड बैठक राखेर छलफल गर्नुपर्ने थियो।" उनले जनभावनालाई ध्यानमा राख्दै पुनरावलोकनको सम्भावना पनि छलफल गर्नुपर्नेमा जोड दिइन्।

 

उनको प्रश्नपछि मेयर बालेनले कुनै प्रतिक्रिया नदिई बैठक समापन गरेका थिए। २९ साउनमा महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका नदी किनारमा थप २० मिटर जग्गामा भवन निर्माण अनुमति नदिने निर्णय गरेको थियो, जसलाई उपमेयर डंगोलले आलोचना गरेकी छन्।