मेयरसाप

विद्यालय

सामान्य प्रशासनमन्त्री गुप्ताको १०० दिनः सङ्घीयता कार्यान्वयनमा असाधारण काम गरेको दाबी

आरसी

मंगल, कार्तिक ६, २०८१ | १७:१३ बजे

काठमाडौँ, कात्तिक ६: सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीयता कार्यान्वयनमा सहजीकरण, सेवा प्रवाहलाई प्रभावकारिता बनाउने र सुशासनमा जोड दिँदै आफू अघि बढिरहेको बताउनुभएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिन पुगेको अवसरमा आज मङ्गलबार उहाँले मन्त्रालयमा पत्रकार सम्मेलन गरी सङ्घीयता कार्यान्वयनमा सहजीकरण गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी तुल्याउँदै सुशासनमा बढी जोड दिएको बताउनुभएको हो ।

सो अवसरमा उहाँले २५ बुँदे कार्य प्रगति विवरण पनि सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गरिएको कार्य प्रगति विवरण अनुसार मन्त्रालयले संघीय निजामती सेवालाई प्रभावकारी र व्यवस्थित बनाउन बनेको संघीय निजामती विधेयक संसदबाट पारित गराउन मन्त्रालयको सम्पूर्ण ध्यान केन्द्रित गरिएको उल्लेख छ ।

उक्त विधेयक हाल संघीय संसदमा प्रस्तुत भइ प्रारम्भिक छलफलपछि राज्य व्यवस्था समितिमा दफावार छलफल भइरहेको र आगामी संसद अधिवेशनबाट स्वीकृत गराउनेगरी समिति र विभिन्न राजनीतिक दलहरूसँग समेत छलफल भइरहेको मन्त्री गुप्ताले बताउनुभयो ।

यस्तै, स्थानीय तहलाई थप सवल एवम् क्रियाशील बनाउन पनि मन्त्रालय लागि परेको मन्त्रीको दाबी छ । कार्यविस्तृतिकरण प्रतिवेदनमा भएको थप व्याख्यासहितको परिमार्जनका विषय समेटेर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को संशोधन विधेयक मस्यौदामा अर्थ मन्त्रालयको सुझाव प्राप्त गरी संशोध सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको पनि मन्त्री गुप्ताले जानकारी दिनुभयो।

त्यसैगरी, जिल्ला समन्वय समितिको भूमिकालाई थप प्रभावकारी बनाउन ५५ वटा जिल्ला समन्वय समितिमा प्राविधिक जनशक्ति व्यवस्था गरिएको र व्यवस्थापन तहमा जनशक्ति कमी हुन नदिनका लागि राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका ४१५ पदमा पदपूर्तिका लागि लोकसेवा आयोगमा माग गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology