स्थानीय तहको उपनिर्वाचनमा माओवादी केन्द्रले खोल्यो खाता, पुथाउत्तरगङ्गाकाे वडा अध्यक्षमा निर्विरोध
Mayorsap
बुध, मंसिर ५, २०८१ | १३:४३ बजे
काठमाडाैं । स्थानीय तहको उपनिर्वाचमा उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन हुने दिन आज नेकपा (माओवादी केन्द्र)काे उम्मेदवार निर्विराेध वडा अध्यक्ष भएका छन् । माओवादी केन्द्रका उम्मेदवारले रुकुम पूर्वबाट वडा अध्यक्ष पदमा खाता खोलेका हुन् ।
पुथाउत्तरगङ्गा गाउँपालिका– २ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार र नेकपा (एमाले)का उम्मेदवारले मनाेनयन फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । यसकाे आधिकारिक घाेषणा भने तीन बजेपछि मात्रै गर्ने तयारी छ ।
गत निर्वाचनमा गाउँपालिकाको उपाध्यक्ष पदमा विजयी भएकी माओवादी केन्द्रकी भुपेन्द्रा बुढा र वडा नम्बर २ का अध्यक्ष माओवादी केन्द्र जसबहादुर शिर्पालीको बागलुङमा भएको दुर्घटनामा निधन भएकाले उपनिर्वाचन हुन लागेको हो ।
पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी एकीकृत समाजवादीकी उम्मेदवार सुनिता बुढाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा छिन् । उपाध्यक्ष पदमा कांग्रेसको चुनाव चिह्नबाट एमालेकी जिल्ला उपसचिव केशकुमारी तुलाचन उम्मेदवार छिन् ।
यही मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ । विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।