मेयर बालेनविरूद्ध आन्दाेलन चर्काउँदै काठमाण्डाै नगरबासी
सडकका लागि नागरिककाे गाँस-बास खाेसेकाे आराेप
Mayorsap
बिही, मंसिर ६, २०८१ | १४:१५ बजे
काठमाण्डाै । मेयर बालेन्द्र साहविरूद्ध काठमाण्डाैका नागरिकहरू आन्दाेलित हुन थालेका छन् । मेयर बालेनले मुआब्जाबिना निजी घर भत्काउने गरेकाे, खाेला किरारकाे मापदण्ड अधिक बनाएकाे भन्दै नागरिकहरू आन्दाेलित भएका हुन् ।
भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले कामनपाले ल्याएकाे खोला तथा सडककाे मापदण्ड पूर्ण रुपमा खारेजीको माग गर्दै बिराेध र्याली निकालेका छन् । नागरिकहरूले बिहीबार ललितपुरको कुपण्डोल पुलबाट कंकेश्वरी मन्दिर परिसर इनाटोलमा भेला भएर माइतीघरसम्म खबरदारी र्याली गरेका हुन्।
अभियान्ता राजाराम तन्दुकारलगायतले मेयर बालेनले सहर सवारी साधनमैत्री बनाउन खाेज्दा नागरिकका अधिकार हनन् भएकाे बताए । उनीहरूले सहर सवारीसाधन मैत्री मात्रै होइन् जनतामैत्री हुनुपर्नेमा काठमाडौं महानगरले जनताको निजी सम्पत्तिलाई बिना मुआब्जा, बिना क्षतिपूर्ति हड्प्ने, डोजर लगाउने जस्ता त्रासपूर्ण गलत कामहरू गरिरहेकोले खबदारी गर्न बाध्य भएकाे बताए ।
उनीहरूले अहिले खबरदारी मात्र गरेको तर बेवास्भता गरे मेयर बालेन (बालेन्द्र) साहलाई महानगरका कार्यक्रममा निषेध गर्ने चेतावनी पनि दिए ।
कार्यक्रममा अभियान्ता राजाराम तन्दुकारले भने, ‘सहर सवारीसाधन मैत्री होइन्, जनतामैत्री हुनुपर्छ । जनताको नीजि सम्पतिलाई बिना मुआब्जा, बिना क्षतिपूर्ति हड्प्ने, डोजर लगाउने ,त्रास सृजना गर्ने कामहरु गलत भइरहेको छ । हाम्रो खबरदारी मात्र हो, भएन भने हामी यस्तो काम गर्ने प्रमुखहरुलाई कार्यालय प्रवेश निषेध गर्छौं । जस्तै बालेनलाई हामी काठमाडौं महानगर निषेध कार्यक्रम पनि घोषणा गर्नसक्छौं ।’
कार्यक्रममा सहभागीहरुले मापदण्डका नाममा जनतालाई उठिबास गर्न पाइँदैन, गैरन्यायिक मापदण्डको नाममा राज्यद्वारा लुटिएको भूमि फिर्ता गर, जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर, आवास र सम्पत्तिको सवैधानिक हकको ग्यारेन्टी गर, निजी घरजग्गा माथि हस्तक्षेप बन्द गरलगायतका प्ले कार्डहरु प्रदर्शन गरेर विरोध जनाएका थिए ।