मेयर तेलीका ‘कार्यकर्ता’ पालिकामा भर्ती गर्न ‘भिलेन’ बने अधिकृत मुस्ताफा
आर्थिक वर्षको आधा समय बितिसक्दा पनि बजेट सञ्चालन र तलब निकासीमा समस्या
आरसी
आइत, मंसिर ९, २०८१ | १७:५० बजे
पर्सा । बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेलीले ‘आफ्ना मान्छे’ (कार्यकर्ता) लाई प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाले पालिकामा जागिर नमिलाइदिएको झोंकमा बजेट खर्चको अख्तियारी नदिँदा पालिकाका कामकाज ठप्प भएको छ ।
मेयर तेलीले आफूले सिफारिस गरेका मान्छेलाई पालिकामा करार कर्मचारीमा नियुक्ती नदिएको भन्दै प्रमुख प्रशासकीय अधिकृतसँग पानी बाराबारको सम्बन्ध बनाएका हुन् । गएकै आर्थिक वर्षमा अनमी, अ.हे.ब तथा प्राविधिक अमिन साथै रोजगार संयोजकलगायतका जनशक्तिको पदपूर्ति गर्नका लागि पालिकाले विज्ञापन खुलाएको थियो । अमिन, अनमीलगायतका पदमा पालिकाले जनशक्ति नियुक्त गरिसकेको छ । तर अ.हे.ब. पदमा भने समस्या खडा भएको छ ।
स्वास्थ्य क्षेत्रको अ.हे.ब चौथो तहका ६ जनाको विज्ञापन खुलाएकोमा पालिकामा १२० जनाले दरखास्त दिएका थिए । तीमध्ये ४४ जनाले लिखित परीक्षा दिएका थिए । लिखित परीक्षा गएको जेठ २६ गते भएको थियो । मेयर तेलीले आफ्ना मान्छेलाई परीक्षामा पास गराएर नियुक्ति दिन पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई दवाव दिएका थिए । स्रोतका अनुसार मेयर तेलीले जागिर दिलाउन दरखास्त दिन आएका उम्मेदवारहरुबाट पैसा लिएको दाबी गरिएको छ । यसबारे आधिकारिक प्रमाण भने हामीलाई प्राप्त भएको छैन । उता प्रमुख प्रशासकीय अधिकृतलाई प्रभावमा पार्ने तेलीबाहेक अर्को पक्ष पनि रहेको स्रोतको दाबी छ ।
अ.हे.ब मा ४४ जना लिखित परीक्षामा सहभागी भएका उम्मेदवारमध्ये अन्तर्वाताका लागि १० जनाको नाम निस्किएको थियो । जेठमा भएको लिखित परीक्षाको परीक्षाफल निकाल्न पालिकालाई चार महिना लागेको थियो । अर्थात लिखित परीक्षाको नतिजा असोज १ गते सार्वजनिक गरिएको थियो । यो अवधिमा पालिकाले नीति तथा कार्यक्रम पनि पारित गर्न सकेन । बजेट ल्याउन पनि सकेन । असार १० गते बजेट ल्याउनुपर्ने पालिकाले कर्मचारी नियुक्तिको विषयमा भएको समस्याका कारण बजेट पनि ल्याउन नसकेको कतिपय वडाअध्यक्षहरुको दाबी छ । मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवाद यही कारणले पनि लम्बिएको देखिन्छ । पालिकाले असोज १ गते लिखितको नतिजा सार्वजनिक गरेसँगै ४४ उम्मेदवारमध्ये १० जना उम्मेदवारलाई मात्रै अन्तर्वार्ताका लागि बोलायो ।
मेयर तेलीले अन्तर्वार्ताका लागि छनौट भएका १० जना उम्मेदवारमा आफूले सिफारिस गरेको मान्छे नदेखेपछि प्रमुख प्रशासकीय अधिकृतलाई पालिकाबाटै हटाउने निर्णय लिए । उनले हर सम्भव प्रयास गरे पनि प्रमुख प्रशासकीय अधिकृत बजेट पास नगरी पालिकाबाट सरुवा हुन चाहेनन् । अन्ततः मेयर तेलीले एक पत्र सार्वजनिक गरी अ.हे.ब.को लिखित नतिजा कार्यान्वयन नगर्न आदेश दिए । जुन कानुनी प्रावधानअनुसारको पनि छैन् ।
पत्रमा उनले लेखे,–‘स्वास्थ्य सेवा हे.ई. समूह पद अ.हे.ब सहायक चौथो तहको मिति २०८१/०२/२६ गते लिएको लिखित परीक्षाको मिति २०८१/०६/०१ मा प्रकाशित नतिजाप्रति योग्य उम्मेदवार छनौट नभई प्रमुख प्रशासकीय अधिकृतले मनोमानी ढंगले आर्थिक चलखेल गरी प्रकाशन गरिएको भनि व्यापक गुनासो आएकाले यस नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त प्रकाशित नतिजा जनप्रतिनिधिलाई दोषी बनाई आर्थिक चलखेलको आरोप लगाई प्रकाशन गरिएकाले उक्त नतिजा कार्यान्वयन नगर्न नगराउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’
पत्र सार्वजनिक नगर्ने हो भने पदपूर्ति हुन्छ भन्ने लागेर मेयरले नयाँ पत्र सार्वजनिक गरेको देखिन्छ । जागिर खाएकालाई हटाउन समस्या हुन्छ भन्ने लागेपछि मेयर आफैँले दस्तखत गरी पत्र सार्वजनिक गरेको प्रष्ट बुझिन्छ । त्यही नगरपालिकाले विज्ञापन खोलेपछि त्यही नगरपालिकाले गएको जेठमा ४४ जना उम्मेदवारलाई लिखित परीक्षामा सामेल गराएको थियो । त्यतिबेला काम गर्ने व्यक्ति तिनै मेयर तेली थिए । लिखित परीक्षाको नतिजा निकाल्न भने उनीहरुलाई चार महिनाभन्दा बढी लाग्यो । नजिता सार्वजनिक भए पछि तिनै मेयरले उक्त अ.हे.ब पदका पदपूर्तिका काम रोक्न आदेश गरे । पालिकामा कर्मचारीहरुले कुनै काम गर्नुभन्दा पहिला अन्तिममा उनलाई नै हस्ताक्षर गर्न लगाउने प्रावधान त्यस पालिकामा रहेको प्रमुख प्रशासकीय अधिकृत मुस्ताफा बताउँछन् । यहाँ प्रष्टै के देखिन्छ भने मेयर तेलीले अ.हे.ब पदमा आफ्ना मान्छे नपरेपछि पदपूर्ति नै रोक्न आदेश दिए । जे होस्, पालिकाले भर्ना गर्ने मान्छे निश्पक्ष परीक्षामा सामेल भएर नियुक्त हुँदैन भन्ने मेयरको यो पत्रले खुल्ला सन्देश दियो ।
उनले त्यो आदेश नदिएको भए सायद यतिबेला ६ जना अ.हे.ब पदमा जागिर खानेहरुले एक महिनाको तलब नगरपालिकाबाट लिइसकेका हुन्थे । ६ जना कर्मचारी राख्न आवश्यकता छ वा छैन भन्ने विषय पनि अझै अनुसन्धानकै पक्ष बनेको छ । यदि कर्मचारीको आवश्यकता थियो भने पदपूर्ति किन रोकियो भन्ने ठूलो प्रश्न उठेको छ । यदि आवश्यकता थिएन भने किन पदपूर्तिको विज्ञापन खोलिएको हो भन्ने प्रश्न पनि उठेको छ । अझ नागरिकका लागि स्वास्थ्य सेवाका कर्मचारी आवश्यक भएर पदपूर्तिका लागि विज्ञापन गरिएको हो भने अहिलेसम्म के स्वार्थका लागि रोकियो भन्ने पनि प्रश्न उठेको छ ।
कर्मचारी राख्ने विषयको विवादमा अल्झिँदा पालिकाले बजेट समयमा ल्याउन सकेन । नगरसभाका सदस्य, स्थानीय नागरिक, जिल्ला समन्वय समितिका प्रमुख निरञ्जनप्रसाद सा सोनारलगायतकोे दबाबमा गएको कार्तिक ७ गते नगरपालिकाले नीति तथा कार्यक्रम त पारित गर्यो तर पनि बजेट कार्यान्वयन गर्न भने अझै सकेको छैन् । आफूले भनेका कर्मचारी नियुक्ति नभएको भन्दै मेयर तेलीले बजेट खर्चको काम नै रोकिदिए । त्यसको पुष्टि एमालेबाट मेयरमा उठेका तेलीका प्रतिद्धन्द्धी शिवप्रसाद पटेलसँगको कुराकानीले पनि गरेको छ ।
पछिल्लो समय मेयर अहिले रहेका प्रमुख प्रशासकीय अधिकृतलाई बजेट सञ्चालनको अख्तियारी दिन तयार छैनन् । नीति तथा कार्यक्रम पारित भएको पन्ध्र दिनभित्र मेयरले प्रमुख प्रशासकीय अधिकृतलाई बजेट सञ्चालनको अख्तियारी दिनुपर्ने कानूनी व्यवस्था छ । तर मेयर तेली कानूनी प्रावधानलाई लत्याउँदै उक्त प्रावधान कार्यान्वयन नगर्ने पक्षमा उभिएका छन् । उनले हामीसँगको संवादमा पनि अहिलेका प्रमुख प्रशासकीय अधिकृतलाई बजेट सञ्चालनको अधिकार नदिने दाबी गरेका छन् । उता प्रमुख प्रशासकीय अधिकृतलाई मेयरले बजेट सञ्चालनको अख्तियारी नदिनु कानुनी प्रावधान विपरीत भएको नगरसभा सदस्यहरुको दाबी छ ।
यो घटना २८ जना कर्मचारी हटाइएको विषयसँग पनि जोडिएको छ । बितेका आर्थिक वर्षमा बिना दरबन्दी पालिकाले २८ जना कर्मचारीलाई अनुदानको पैसाबाट तलब खुवाएर नियुक्ति दिएको थियो । तेली मेयरमा निर्वाचित भएसँगै बिना दरबन्दी नियुक्त भएका २८ जना कर्मचारीको विषयमा कसैले अख्तियारमा उजुरी दिए । अख्तियारले पालिकाका मेयरलगायतका जनप्रतिनिधिलाई सोधपुछ गर्न पत्र काट्यो । मेयर तेलीलगायतको नियुक्ति दिने टोली अत्तालियो । त्यसपछि २८ जना नै कर्मचारी हटाउने गरी मेयर तेलीलगायतको टिमले कार्यपालिकाबाट निर्णय गरायो । अनि २८ जना कर्मचारी हटाइसकेको पत्र अख्तियारमा पठाइयो । अख्तियारको छानबिनबाट भाग्नु २८ जना कर्मचारी हटाउनुको उद्देश्य थियो । अन्ततः मेयर तेलीको टोली त्यसमा सफल भयो ।
तर ती सबै कर्मचारी मेयर तेलीलगायतका राजनीतिक दलका कार्यकर्ता थिए । पार्टीबाट मेयर तेलीलाई ती सबैलाई जागिर दिन दवाव आयो । उनले त्यो दवाव प्रमुख प्रशासकीय अधिकृतलाई दिए । २८ जना कर्मचारी फेरि नियुक्त गराउने उपाय निकाल्न प्रमुख प्रशासकीय अधिकृतलाई मेयर तेलीले अनुरोध गरे । प्रमुख प्रशासकीय अधिकृतले भने कानूनी तरिकाले २८ जना कर्मचारीलाई नियुक्त दिन नसक्ने जानकारी दिए । त्यसपछि मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको दूरी बढ्न थाल्यो । अनि यो विवादले समयमै बजेट ल्याउन नसक्ने अवस्थामा पालिकालाई पुर्यायो ।
केही खास मान्छेलाई अनमी, अ.हे.ब लगायतका दरबन्दी सिर्जना गरेर पालिकामा जागिर लगाउन सकिने देखेपछि मेयरलगायतको टोलीले अमिन, अनमी, रोजगार संयोजक, अ.हे.ब.लगायतका पदमा पदपूर्तिका लागि विज्ञापन खुलायो । अहिलेसम्म अनमी, अमिन, रोजगार संयोजक लगायतका पदमा केहीलाई पालिकाले नियुक्ति पनि दिइसक्यो ।
स्रोतका अनुसार कतैतिर नियुक्ति नपाएका बाँकी मान्छे अ.हे.ब.मा प्रमुख प्रशासकीय अधिकृतले नियुक्ति मिलाइदिने आशमा मेयर तेली बसेका थिए । तर अ.हे.ब. को लिखित परीक्षा पास भएका उम्मेदवारको लिष्टमा आफ्ना मान्छेको नाम नआएको देखेपछि मेयर तेली प्रमुख प्रशासकीय अधिकृतसँग रिसाएका हुन् । अहिले ती अ.हे.ब. पदमा दरखास्त दिएका उम्मेदवारहरु अन्यौलमा छन् । सँगै लिखित परीक्षा दिएका अनमीहरुले केही महिनाको जागिर पकाइसकेका छन् । तर मेयरको दवावका कारण अ.हे.ब.को पदमा दरखास्त दिएका उम्मेदवारहरुको विषय के हुने भन्ने अनिश्चित भएको छ ।
मेयर तेली बजेट कार्यान्वयनको अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई दिन नसक्नुको एक कारण वडा नम्बर ६ बाट नीति तथा कार्यक्रम नआउनु रहेको बताउँछन् । ६ नम्बर वडाका अध्यक्ष प्रमोद तेली स्वतन्त्र उम्मेदवारबाट विजयी भएका व्यक्ति हुन् । वडा अध्यक्ष प्रमोद मेयर तेलीको नजिकको नाता पर्ने व्यक्ति पनि हुन् ।
६ नम्बर वडाले पनि अहिलेसम्म नीति तथा कार्यक्रम पालिकाको नगरसभामा बुझाएको छैन् । एमालेबाट चारजना वडा सदस्य निर्वाचित भएको ६ नम्बर वडामा एमालेले आफूले भनेअनुसारका नीति तथा कार्यक्रम लागू गर्ने शर्तमा मात्रै वडासभा बस्ने बताएपछि नगरमा नीति तथा कार्यक्रम पेश गर्न नसकिएको अध्यक्षको दाबी छ । बजेट कार्यान्वयनको अख्तियारी नदिनु त्यो एक कारण भए पनि मुख्य कारण आफूले भनेका व्यक्तिलाई कर्मचारीको रुपमा नियुक्ति नदिनु नै रहेको घटनाले पुष्टि गरेको छ । वडालाई सिलिङ बराबरको बजेट छुट्याइदिएर पालिकाले नीति तथा कार्यक्रम पारित गरेको छ । मेयर तेलीले बजेट कार्यान्वयनको अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई नदिँदा पालिकाभरका कर्मचारीहरुले तलब सुविधा पाएका छैनन् । यो गाँठो कहिले फुक्ला भनेर पालिकाभरका कर्मचारीहरु तलब कुरिरहेका छन् ।