हेटौँडा–१२ मा उपनिर्वाचनको रौनक, उम्मेदवारहरू प्रचार प्रसारमा व्यस्त


मकवानपुर । यही मङ्सिर १६ गते हुने वडाध्यक्षको उपनिर्वाचनमा भोट माग्न हेटौँडा उपमहानगरपालिका–१२ का उम्मेदवारहरू घरदैलोमा जुटेका छन् ।
चुनावी मैदानमा उत्रिएका सबै उम्मेदवार र दलका नेता कार्यकर्ताताहरु मतदातालाई आफ्नो पक्षमा मतदान गर्न प्रयासरत छन् । सबै उम्मेदवारले वडाका विकास– निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै आएका छन् ।
गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त छ । रिक्त वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको छ ।
हेटौँडा उपमहानगरपालिका–१२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसका अर्जुन तिवारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का राजेश नगरकोटी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रविन प्रधानले उम्मेदवारी दिएका छन ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि ठूला दललाई चुनौती दिँदै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
रास्वपाले आशावीर बल, एकीकृत समाजवादीले बलराम बल र राप्रपाले प्रेम लामालाई उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा छन् । सो वडामा उपनिर्वाचनका लागि नौ दलका नौ जना र स्वतन्त्र तीन जना गरी १२ जना उम्मेदवार चुनावी मैदानमा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।