भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडीलाई गर्याे सम्मान
दीर्घकालीन रुपमा उनीहरुले लाभ लिनसक्ने गरी लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना
Mayorsap
बुध, मंसिर १२, २०८१ | १४:५३ बजे
गोरखा । भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडीलाई सम्मान गरेको छ ।
जातीय छुवाछुत र भेदभावको पूर्णरुपमा अन्त्य गदै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलित बीच विवाह भएका जोडीलाई सम्मान गरेको गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख नारायण श्रेष्ठले जानकारी दिए ।
कानुनले जातीय विभेदलाई पूर्णरुपमा बर्जित गरेको भएपनि हाम्रो समाजमा अझै पनि दलित र गैह्रदलित बिच भित्रभित्रै विभेद भएका घटना कतैकतै आउने गरेका छन्, यसलाई अन्त्य गर्दै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलित वीच विवाह गर्ने जोडीलाई सम्मान गरिएको बताए ।
पालिका भित्रका सबै वडामा दलित र गैह्रदलितबीच विवाह भएका जोडीको विवरण संकलन गरेर मंगलबार उनीहरुलाई सम्मान गरिएको श्रेष्ठले जानकारी दिए।
अन्तरजातीय विवाह गर्नेलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गराउनु पनि कार्यक्रमको अर्को उद्देस्य रहेको उनले बताए । यसवाट अन्तरजातीय विवाह गर्नेलाई हौसला प्रदान हुनेछ भन्ने ठानेको पनि बताए ।
दलित र गैह्रदलित बीच विवाह भएका दम्पतीको आर्थिक अवस्थाको हेरेर प्रोत्साहनका लागि पालिकाले सीपमुलक तालिम उपलब्ध गराउने योजना पनि बनाएको गाउँपालिकाका प्रशासकीय अधिकृत रुलबहादुर आलेले बताए ।
दीर्घकालिन रुपमा उनीहरुले लाभ लिनसक्ने गरी लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना पनि पालिकाले बनाएको अधिकृत आलेले बताए । जसले जीवनयापनका लागि पनि मद्दत पुग्ने विश्वास लिइएको पनि जानकारी दीए ।