धरानका मेयर साम्पाङविरुद्ध पत्रकारलाई धम्की दिएको भन्दै प्रहरीमा उजुरी
साम्पाङले सामाजिक सञ्जालमार्फत् पत्रकारद्वय दाहाल र राईलाई धम्की दिएका हुन् ।
Mayorsap
शुक्र, मंसिर २१, २०८१ | १७:४९ बजे

काठमाडौँ । समाचार लेखेको विषयलाई लिएर पत्रकारलाई धम्की दिएको भन्दै सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
पत्रकार महासंघ सुनसरीको भेलापछि शान्ति सुरक्षाको माग र धम्की दिने मेयर साम्पाङलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको हो । नेपाल पत्रकार महासंघ सुनसरी जिल्ला अध्यक्ष जनक ऋषि राई र केन्द्रीय परिषद गोपाल दाहालले उजुरी दिएका हुन् ।
खोज पत्रकारिता केन्द्रका लागि पत्रकार गोपाल दाहालले ‘हर्क साम्पाङको मौन मौजी शासन बेथितिको दलदलमा धरान’ शीर्षकमा लेखेको समाचारको विषयलाई लिएर मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत् पत्रकारद्वय दाहाल र राईलाई धम्की दिएका हुन् ।
साथै बिहीबार पत्रकार सम्मेलन गरेर उनले केन्द्रले बनाएको ऐन नमान्ने र आफूले नै बनाउने भन्दै प्रचलित कानुनलाई चुनौती दिएका थिए ।