पत्रकारलाई कारबाही गर्न मेयर हर्कले लेखे गृहमन्त्रीलाई ठाडो पत्र
'पावरकाे दम्भ' कि सुधारकाे माग ?
Mayorsap
आइत, मंसिर २३, २०८१ | १८:४१ बजे
काठमाण्डौ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले गृहमन्त्री रमेश लेखकलाई ठाडो पत्र लेखेका छन् ।
पत्रमा उनले आफूलाई माओवादीको नक्कली कार्यकर्ता बनेर पैसा उठाएको भन्ने विषयप्रति आपत्ति जनाएको देखिन्छ । मेयर हर्कराज साम्पाङको विषयमा खोज पत्रकारिता केन्द्रका लागि गोपाल दाहालले समाचार लेखेका थिए ।
समाचारमा धरानमा अव्यवस्थित रुपमा काम भएको, हिसाब पारदर्शी नबनाइएको, कानूनको पालना मेयर हर्कराज साम्पाङले नै नगरेको विषय खुलाइएको थियो ।
समाचारमा थप माओवादीको द्धन्द्धका बेला हर्कराज साम्पाङले नक्कली माओवादी बनेर चन्दा संकलन गरेको र पक्राउ पनि परेको जनाइएको थियो । त्यसै विषयलाई लिएर मेयर हर्कराज साम्पाङले पत्रकारहरुलाई सामाजिक सञ्जालमा अश्लील र असभ्य अभिव्यक्ति समेत दिँदै आएका थिए ।
पत्रकारहरुले मेयर हर्कराजले दिएको अभिव्यक्तिविरुद्ध प्रहरीमा समेत उजुरी दिएका छन् । यता मेयर हर्कले पनि गृहमन्त्रीलाई सम्बोधन गर्दै ठाडो पत्र लेखेका छन् ।
उनले पत्रमा लेखेका छन्, ‘.....खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल नामको व्यक्तिले धरान उपमहानगरपालिकाको मेयर हर्कराज राई अर्थात मैले नक्कली माओवादी बनेर चन्दा असुलेको भन्ने भ्रामक झुटा समाचार प्रकाशन गरी मेरो चरित्रहत्या गर्ने प्रयास गरेको र सोही झुटो समाचारलाई सामाजिक सञ्जालमा पोष्ट गर्दै ....पत्रकार महासंघ सुनसरीको अध्यक्ष जनक ऋषि भन्ने व्यक्तिले दुस्प्रचार गर्न सहयोग गरेकोले दुवैलाई कानुन मुताबिक कारबाही गरी .......बिकृतिलाई रोक्न आवश्यक कदम चालियोस भन्ने अनुरोध छ ।’
उनले पत्रमा कोशी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय इनरुवा र इलाका प्रहरी कार्यालय धरानलाई बोधार्थ समेत दिएका छन् ।
गएको २०७९ को निर्वाचनमा धरानको मेयरमा विजयी भएका हर्कराज साम्पाङ धरानकै ०७४ सालमा निर्वाचित मेयर तिलक राईविरुद्ध आफैँ भने कार्यालयमै गएर विरोधमा उत्रिन्थे । तर उनको कामको विषयलाई लिएर पत्रकारहरुले लेखेको समाचारको विषयमा भने मेयर हर्कराज आक्रामक देखिन्छन् ।
तुच्छ र अश्लील शब्दहरुमार्फत पत्रकारहरुविरुद्ध आक्रमणमा उत्रिएका मेयर हर्कले कानुनी प्रावधानभन्दा ठाडो आदेशमा काम गर्न खोजेको देखिन्छ । उनले गृहमन्त्रीलाई लेखेको पत्र हेर्दा पनि यसको पुष्टि हुन्छ ।
समाचारमा गल्ती देखिए सुधार गर्न लगाउने र कानुनी प्रावधानअनुसार सच्याउन लगाउनुको सट्टा गाली गलोज र दुव्र्यवहारमा उत्रिएका मेयर हर्कराजको पत्रलाई कतिपयले ‘पावरको दम्भ’को रुपमा अथ्र्याएका छन् ।