एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
Mayorsap
बिही, पौष ४, २०८१ | २०:२८ बजे

झापा । कप्तान अञ्जन विष्टको ह्याट्रिक गोलको मद्दतले एनआरटी क्लब काठमाडौं झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले आज सम्पन्न खेलमा चित्लाङ एफसी क्लबलाई ५–१ गोलअन्तरले पराजित गरेको हो ।
खेलको १३औं मिनेटमा एनआरटीका लागि कप्तान अञ्जन विष्टले पहिलो गोल गरे । यस्तै खेलको ३६औं मिनेटमा उनले नै पेनाल्टीमार्फत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई २–० को अवस्थामा पु¥याए । चित्लाङ एफसीका गौरव श्रेष्ठले अञ्जनलाई लडाएपछि एनआरटीले पेनाल्टी पाएको हो ।
यसैगरी खेलको ४२औं मिनेटमा चित्लाङ एफसीले गोल फर्कायो । उसका लागि जनक कोइरालाले गोल गरेका थिए । खेलको ६५औं मिनेटमा नेमारले एनआरटीका लागि तेस्रो गोल गरे । खेलको ६८औं मिनेटमा शिशिर लेखीले एनआरटीका लागि चौथो गोल गरे । खेलको ८८औं मिनेटमा पेनाल्टीमार्फत एनआरटीका लागि अञ्जनले ह्याट्रिक गोल गरेका थिए । जारी प्रतियोगितामा उनी ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।
शुक्रबार पहिलो सेमिफाइनल खेल सिरहाको सलहेश फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच तथा अर्को सेमिफाइनल एनआरटी र इटहरीको राष्ट्रिय जागृति क्लबबीच हुनेछ । प्रतियोगिताको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । फाइनल खेल यही पुस ८ गते हुनेछ ।