बीरगन्जमा ३०० क्वीन्टलभन्दा बढी धानको थुप्रोमा कसले लगाइदियो आगो ?
उपेन्द्र यादव पक्षले लगाउँदैछ प्रदिप यादव पक्षलाई आगो लगाएको आरोप
Mayorsap
सोम, पौष ८, २०८१ | ०८:३७ बजे
पर्सा । बीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरमा रहेको हरिन्द्र यादवको बिघौं जग्गाको धान खेतमै जलेको छ ।
रातको समयमा खेतमा कसैले आगो लगाइदिएर ३०० क्वीन्टलभन्दा बढी धान नष्ट गरिदिएको जग्गा धनी यादवले बताए । पुस ६ गते राति हरिन्द्र यादवको ३०० क्वीन्टलको धान जलेर नष्ट भएको हो । धान धनी हरिन्द्र यादवका अनुसार पुस ६ गते उनले उपेन्द्र यादवको पार्टी जसपा नेपालमा पार्टी प्रवेशलगायतका कार्यक्रम गर्न आफ्नो जमिन उपलब्ध गराएका थिए ।
हरिन्द्र यादवको कार्यक्रम गर्ने स्थान उपेन्द्रबाटै छुट्टिएका प्रदिप यादवको पक्कड क्षेत्र रहेको स्थानीयबासीहरु बताउँछन् । धान धनी हरिन्द्र यादव पनि आफूले उपेन्द्र यादवको पार्टीका लागि काम गरेपछि प्रदीप यादवको पक्ष रिसाएको बताउँछन् ।
‘हामीले कार्यक्रम गर्ने भएपछि प्रदिप यादवको पक्षका नेता कार्यकर्ताले हाम्रो कार्यक्रममा नजान स्थानीयबासीलाई धक्याइरहेको हामीले पाएका थियौं । मैले कार्यक्रम गर्न दिएको रिसिइबीकै कारण मेरो धानमा आगो लगाइएको हो’, हरिन्द्र यादवले गुनासो गरे ।
उनको धान जलेको स्थानमा उपेन्द्र यादवको पार्टीका नेता कार्यकर्ता क्षति भएको स्थान अवलोकन गर्न आएका थिए । घटनाबारे प्रहरीमा जाहेरी दिने तयारी यादवको थियो । राति दमकल आएर आगो निभाए पनि धान भने जलेर नष्ट भएको छ ।
३ बिघा १० कठ्ठा जमिनमा ३०० क्वीन्टल धान उत्पादन हुने यादवले बताए । धान काटेर अन्य बाली लगाएको र धान झार्न बाँकी रहेका यादवको भनाई छ ।
प्रदिप यादवलाई सम्पर्क गरी धानमा आगाे लगाइएकाे विषयमा तपाईँलाई आराेप लागेकाे छ नि भन्ने प्रश्न गर्दा उनले प्रश्नकाे उत्तर दिएनन् । बरु उल्टै उनले हामीलाई उपेन्द्र यादवकाे पत्रकार भएकाे आराेप लगाए ।