श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिंघे काठमाडौं आउँदै
नेपाल भ्रमणका क्रममा लुुम्बिनीसमेत जाने
Mayorsap
शुक्र, पौष १२, २०८१ | १९:०९ बजे

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे शनिबार नेपाल आउँदै छन् । उनी निजी भ्रमणका लागि नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।
मन्त्रालयले उनलाई पूर्वराष्ट्रपतिका रूपमा भ्रमणका क्रममा शिष्टाचार र सुरक्षाको प्रबन्ध गर्ने जनाएको छ । अन्य भेटघाट र भ्रमण उनले आफ्नै हिसाबले निजी रूपमा गर्ने जनाइएको छ । पूर्वराष्ट्रपति विक्रमासिंघे नेपाल भ्रमणका क्रममा लुुम्बिनीसमेत जाने कार्यक्रम छ । भ्रमण सम्पन्न गरी उनी यही पुस १७ गते स्वदेश फर्कनेछन् ।
नेपाल–श्रीलंका सम्बन्ध
नेपाल र श्रीलंकाबीच सन् १९५७ जुलाई १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले सन् १९७५ मा कोलम्बोमा मानार्थ महावाणिज्य दूतावास खोलेकामा सन् १९९५ मा कोलम्बोमा नेपाली राजदूतावास स्थापना भएको थियो । त्यस्तै काठमाडौँमा सन् १९९३ देखि श्रीलंकाको आवासीय दूतावास रहेको छ ।
नेपाल र श्रीलंका दुवै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का संस्थापक सदस्य हुनुका साथै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य पनि हुन् ।
दुई देशले धेरै अन्तर्राष्ट्रिय मुद्दाहरूमा समान विचार प्रस्तुत गर्नुका साथै संयुक्त राष्ट्र, असंलग्न आन्दोलन र विश्व व्यापार सङ्गठनलगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा धारणाका साथ प्रस्तुत हुने गरेका छन् ।
शाक्यमुनि बुद्धको जन्मस्थल तथा विश्वभरका बौद्ध धर्मावलम्बीहरूको पवित्र गन्तव्यका रूपमा रहेको लुम्बिनीमा हरेक वर्ष श्रीलंकाबाट बौद्ध तीर्थयात्री आउने गरेका छन् ।
लुम्बिनीलाई विश्व शान्तिको मुहानका रूपमा विकास गर्ने नेपालको प्रयासमा श्रीलंका सरकारले सहयोग गरिरहेको छ । श्रीलंकाले लुम्बिनीमा गुम्बा र ‘रेस्टहाउस कम्प्लेक्स’ पनि बनाएको छ । नेपालमा प्रत्येक वर्ष श्रीलंकाबाट ठूलो सङ्ख्यामा पर्यटक आउने गरेका छन् ।