मोदी गाउँपालिका लेसपारबासीका घरघरमा पुग्यो खानेपानीका धारा
Mayorsap
बुध, माघ ९, २०८१ | ११:५६ बजे

काठमाडौँ । पर्वतको मोदी गाउँपालिका–४ मा रहेको प्रसिद्ध पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार गरिएको छ । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका उक्त गाउँका दुई सय १६ घरधुरीमा एक घर एक धारा निर्माण गरी पानी वितरण गरिएको हो ।
कादुरी एग्रिकल्चर एड एशोसियट्स ब्रिटिस गोर्खाज नेपालको सहयोगमा त्यहाँका सबै घर, सामुदायिक विद्यालय र सामुदायिक भवनमा धारा विस्तार गरिएको हो । गत जेठदेखि सबै घुरधुरीमा सहज रुपमा खानेपानी पुगेको छ ।
यहाँका २११ घर, एक विद्यालय र चार वटा सामुदायिक भवनमा धारा विस्तार गरिएको छ । यो योजनाबाट लेसपारका झण्डै एक हजार बासिन्दा लाभान्वित भएका छन् ।
खानेपानी योजना १ करोड ३६ लाख ५८ हजार ५६० रुपैयाँको लागतमा सम्पन्न भएको हो । जसमध्ये १० लाख ७१ हजार ९०० रुपैयाँ बराबरको स्थानीयले जनश्रमदान गरेका छन् भने बाँकी संस्थामार्फतर्च गरिएको छ ।
बस्तीभन्दा माथि रहेको जङ्गलका लाटा खर्क र सिस्नेरा गरी दुई वटा मुहानबाट पानी ल्याइएको छ । घरघरमै खानेपानी सुविधा उपलब्ध भएपछि पानीका लागि खोला, कुवा र खोल्सामा धाउनुपर्ने स्थानीयको बाध्यता हटेको लेसपार एक घर एक धारा खानेपानी उपभोक्ता समितिका अध्यक्ष भिमबहादुुर पुन बताउँछन् ।
मगर समुदायको मात्र बसोबास रहेको लेसपार पछिल्लो समय पर्यटकीय गाउँको रुपमा विकास हुँदै । ढुङ्गैढुङ्गाले छाएका घरहरु, मगर समुदायको कला र संस्कृति तथा घरवासमा बस्नका लागि यहाँ विभिन्न क्षेत्रबाट पर्यटकहरु आउने गर्दछन् ।