Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

छ वर्ष पछि ‘काठेपुल मुक्त’ भयाे हल्दिबारी गाउँपालिका

User Image Mayorsap | २०८१ माघ १६ गते १०:०४
Image of storage/news/1738145092.jpg

झापा । हल्दिबारी गाउँपालिकाले बिगत छ वर्षमा स्थानीय काठेपुल विस्थापित गरेर पक्की पुल निर्माण गरेको छ । विसं २०७५ मा गाउँपालिकाले ‘काठेपुल मुक्त अभियान’ सुरु गरेको थियो ।

 

अभियानले सफलता पाएसँगै हल्दिबारीका सबै पुलपुलेसा पक्की बनेका हुन् । पालिकाका भौतिक पूर्वाधार तथा नापी शाखाका प्रमुख इन्जिनियर संकल्प खनालले वि.सं. २०७५ यता १०० वटा पक्की पुल निर्माण भएको बताए । उनले भुतेनी र भुसुडी खोलाको पुल निर्माण अन्तिम चरणमा पुगिसकेको जनाउँदै अरु खोला खोल्साको पुल सञ्चालनमा आइसकेको जानकारी दिए ।

 

पालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले अब हल्दिबारीमा ज्यानको जोखिम मोलेर काठको पुल तर्नुपर्ने बर्षौदेखिको बाध्यता हटेको बताए । “पहिलोपल्ट पालिकाको अध्यक्षमा निर्वाचित हुँदा हल्दिबारीका बसै पुल कच्ची र काठबाट निर्मित थिए,” उनी भन्छन्–“पुल पार गर्दा काठ भाँचिएला कि भन्ने डर हुने र बाढीले बगाउला कि भन्ने त्रास बोक्नु पर्ने अवस्था थियो ।” अध्यक्ष लिङ्देनले नै वि.सं. २०७५ मा ‘काठेपुल मुक्त अभियान’ घोषणा गरेका थिए।

 

पालिकाले प्राथमिकतापूर्वक आवश्यक बजेट बिनियोजन गरेपछि धमाधम काठेपुल हटाएर पक्की पुल बनाउन थालिएको थियो । पाँच वटा वडा रहेको हल्दिबारीमा ३३ हजार जनसंख्या छ । सडक पूर्वाधार, शिक्षा र स्वास्थ्य सुविधाका लागि पालिकाले उच्च प्राथमिकता दिएर बजेट विनियोजन गर्दै आएको अध्यक्ष लिङ्देन बताउँछन् । 

 

एक सय वटा पक्की पुल निर्माण गर्न रु. १० करोड खर्च भएको भौतिक पूर्वाधार तथा नापी शाखाका प्रमुख इन्जिनियर खनालले बताए । यसैवर्षको फागुन ३० गतेसम्ममा भुतेनी र भुसुडी खोलाको निर्माणाधीन पुलको कार्य सम्पन्न भइसक्ने उनले जानकारी दिए।

 

पालिकाले पुल र सडक निर्माणमा आन्तरिक स्रोतको परिचालन गर्दै आएको जनाएको छ । बिगत छ वर्षमा हल्दिबारीमा आन्तरिक स्रोतबाटै ३५ किमी सडक कालोपत्रे भइसकेको छ भने पाँच किमी कालोपत्रे निर्माणको चरणमा रहेको खनालले बताए ।


Facebook Comments