मेयरसाप

रोजगारी

केपी ओली

राजपुर गाउँपालिका

विपन्न किसान

गौशाला नगरपालिका

नरहरिनाथ गाउँपालिका

भेरी नगरपालिका

चुरे दोहन गरी सडक निर्माण, मुकदर्शक नियमक निकाय

स्थानीय सक्रिय भएपछि बल्ल अनुसन्धान थाल्दैछ वन कार्यालय

मुकेशकुमार यादव

आइत, माघ २०, २०८१ | १६:४० बजे

सिरहा । सिरहाको गोलबजार नगरपालिका ७ चोहर्वा बजारदेखि वडा नम्बर १० धरमपुर घुर्मीघाटसम्म ७ किलोमिटर सडक करिब १८ करोडको लागतमा निर्माण भइरहेकाे छ । तर सडक निर्माणमा चाहिने ढुंगा, गिट्टी, माटाे तथा बालुवा नियमविपरित चुरे चौफाल सातपत्रे सामुदायिक वन क्षेत्रबाट वन उपभोक्ता समितिका अध्यक्ष देवकुमार तामाङ, वन कर्मचारी र प्रहरी प्रशासनकै मिलेमत्तोमा उत्खनन् गरिएकाे छ ।

  

पछिल्लो समय सिरहामा राष्ट्रिय गौरव योजनाको नाममा राष्ट्रिय वन, सामुदायिक वन, खोला तथा निजी आवादी जग्गाहरूबाट अनियन्त्रित रुपमा ग्राभेल उत्खनन् गरी सडक निमार्ण हुने क्रम बढ्दाे छ। ठेकेदार कम्पनीहरूले स्थानीय प्रहरी प्रशासन, जनप्रतिनिधि, वनका कर्मचारी, सामुदायिक वनका अध्यक्ष समेतलाई आर्थिक प्रभावमा पारी सडक निमार्णका लागि आवश्यक सामाग्रीहरु माटो, ग्राभेल, र बालुवाहरू नियमविपरित चुरे क्षेत्रबाट उत्खनन् गरिरहेका छन् ।

      

स्थानीय नागरिकहरूका अनुसार ‘रातको समयमा वनभित्रै स्काभेटर लगेर सालको रुख ढाल्दै ग्राभेल उत्खनन् गरी टिप्फरमा सामाग्री ओसार्ने गरिएकाे छ। यो विषयमा नियमक निकाय सबैलाई जानकारी छ। तर कसैले चुइँक्क बाेल्दैनन्। वन उपभोक्ता समूहका अध्यक्ष देवकुमार तामाङ त झन् आफ्नै रोहवरमा चुरे उत्खनन् गराउँन तल्लीन छन्। उत्खननकाे क्रममा ढलेको सालको रुख पनि टिप्फरमा लोडगरी स्थानीय काष्ठ उद्याेगहरूमा बिक्री हुने गरेकाे छ। याे विषयमा वनको कर्मचारीलाई जानकारी गराउँदा समेत रूखको विषयमा केही बोल्दैनन्।

'उपभोक्ता समूहका अध्यक्ष तामाङले नै आफ्नै निजी जग्गाबाट करिब एक सय टिप माटो तथा ग्राभेल दिएका छन्। वनका कर्मचारी,  जनप्रतिनिधि सबैलाई जानकारी छ। तर, यो उत्खनन् रोक्न कोही अग्रसर देखिनन्', स्थानीय प्रमोदकुमार सिंहले भने, ‘उत्खननको बारेमा हामीले पटक–पटक वनका कर्मचारी, सामुदायिक वनका अध्यक्ष, प्रहरी र जनप्रतिनिधिसहितलाई जानकारी गराए पनि सरोकारवाला निकायले कुनै वास्ता गरेनन् ।'

 

जिम्मेवार निकाय नै उत्खनन् कर्ताको पक्षपोषणमा लाग्दा प्राकृतिक सम्पदाको अनियन्त्रित दोहनले प्राकृतिक विपत्ति निम्याउनसक्ने भन्दै स्थानीयहरू त्रसित भएका छन्। 

त्रसित स्थानीयहरूले चुरे दोहन बन्द गर्न र उत्खनन् गराउने सामुदायिक वनका अध्यक्ष देवकुमार तामाङमाथि कारबाही गर्न नाम किटान गरी गाेलबजार नगरपालिका वडा नम्बर १० को वडा कार्यालयमा सामूहिक उजुरीसमेत दिएको वडा अध्यक्ष उपेन्द्र मुखियाले जानकारी दिए । अध्यक्ष उपेन्द्र मुखियाले भने, ‘स्थानीयहरूलाई डराई धम्क्याई वननै मासेर ग्राभेल उत्खनन् गरेको स्थलगत अनुगमनमा जाँदा देखिएको छ । यो वडावासीको लागि अत्यन्तै गम्भीर बिषय हो। स्थानीयले दिएको निवेदनको आधारमा सम्बन्धित निकायलाई  दोषी उपर छानबिन गरी कडा कारबाही गर्न पत्र पठाइदिएको छु।’ 

 

संरक्षणको जिम्मा पाएको सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी नै उत्खनन् गराउन सक्रिय रहेको स्थानीयको आरोप छ। चुरे चौफाल सातपत्रे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष देवकुमार तामाङ्गसँग सामुदायिक वन भित्रैबाट उत्खनन् भइरहेको छ ? यो कसरी सम्भव भएको हो ? तपाईँलाई यसबारे जानकारी छ कि छैन ? भन्ने प्रश्न साेध्दा उनले अल्मलिएर भन्ने, ‘ आफूलाई उत्खनन् बारेमा कुनै जनकारी नै छैन।' उनले एकछिन पछि थप अगाडि उनले भने,  'त्यो त निजी जग्गा हो। यो सडक निमार्णमा मैलेपनि सयौँ टिप्फर माटो तथा ग्राभेल दिएको छु।'  उनले रातभरी वन तथा खोलाबाट माटाे, ढुंगा तथा गिट्टी उत्खनन् भइरहेको स्विकार गरे।

 

उनले थप भने, ‘यहाँ रात परेपछि वन तथा खोलामा स्काभेटर लगाएर उत्खनन् भइरहेको हुन्छ। यहाँ सबैको मिलेमत्तो छ। मेरो एक्लो प्रयासले त्यो रोकिंदैन।’ तर अध्यक्ष तामाङ्गले नै ठेकेदारलाई स्थानीय स्तरमा ग्राभेल र माटो उत्खनन् गर्न सघाउने  गरेको स्थानीयहरूको आरोप छ । 

 

यता, डिभिजन वन कार्यालय लहानका डिभिजनल प्रमुख शैलेन्द्रकुमार मिश्राले उत्खनन् भएको विषयमा आफूहरूले भर्खरै थाहा पाएकाे र  अनुसन्धान गरिरहेको बताए। उनले भने, ‘प्रहरीले स्काभेटर समाएको भन्ने सुनेको छु। हामीले पनि अनुसन्धान गरिरहेका छौं। दोषी उम्किनु हुँदैन। त्यसको लागि सबैको सहयोग आवश्यक छ ।’

 

गएकाे शुक्रबार गाेलबजार नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष उपेन्द्र मुखियाले माटाे, ढुंगा तथा गिट्टी, बालुवाकाे उत्खनन् गरिरहेकाे बेला इलाका प्रहरी कार्यालय गोलबजारकाे सहयाेगमा स्काभेटर नियन्त्रणमा लिन पठाए । प्रहरीले स्काभेटर ल्याएर आफ्नाे कार्यालयमा राख्ने ठाउँ नहुँदा नगरपालिकाभित्र राख्याे । यस विषयमा अनुसन्धान गरी आवश्यक कारबाही गर्न वडा अध्यक्षले जिल्ला वन कार्यालयका कर्मचारीलाई पत्र पठाएका छन् । 

 

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्स्पेक्टर गाेबिन्दप्रसाद साहले स्काभेर वडा अध्यक्षकाे निर्देशनमा आफूहरूले ल्याएर पालिकामा राखेकाे बताए । घटनाबारे जिल्ला वन कार्यालय सिराहाले अनुसन्धान थालेकाे जनाएकाे छ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology