वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
Mayorsap
शुक्र, माघ २५, २०८१ | १५:०२ बजे

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत गुर्भाकोट नगरपालिका–२ घर भई काठमाडौं तार्केश्वर नगरपालिका नेपालटार बस्ने ३६ वर्षीय रमेश कुमार डिसी, रोल्पा गंगादेव गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–३१ बस्ने ४१ वर्षीय जै बहादुर वली र मकवानपुर थाहा नगरपालिका–२ घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने ३८ वर्षीय रविन कार्की रहेका छन् ।
पक्राउ मध्ये रमेशले सिंगापुर पठाइदिछु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, जै बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ र रविनले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूले उजुरी दिएका थिए । उक्त उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशलाई काठमाडौं महानगरपालिका–९ बाट र जै बहादुरलाई काठमाडौं महानगरपालिका–३१ बाट बिहीबार तथा रविनलाई काठमाडौं महानगरपालिका–२६ बाट बुधबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये रमेश र जै बहादुरलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं तथा रविनलाई प्रहरी वृत्त बौद्ध पठाइएको छ ।