खेल मैदान नहुँदा प्रतियोगिता गराउनै सकस
Mayorsap
आइत, फागुन ११, २०८१ | १३:५१ बजे

कञ्चनपुर । कञ्चनपुर क्रिकेट खेलाडी उत्पादन गर्ने थलोका रुपमा पनि परिचित छ । अहिले पनि नेपालको राष्ट्रिय क्रिकेट टोलीमा कञ्चनपुरका चार खेलाडी छन् ।
दीपेन्द्रसिंह ऐरीदेखि विनोद भण्डारी, प्रदीप ऐरी, भीम सार्की यहीँका उत्पादन हुन् । कञ्चनपुरमा क्रिकेटको क्रेज ग्रामीणस्तरसम्म छ । तर यहाँ खेल मैदान बनाउने विषय भने प्राथमिकतामा पर्न सकेको छैन ।
महेन्द्रनगरस्थित कबर्डहलमा भएको एउटै खेल मैदानमा क्रिकेट र फुटबल खेल्नुपर्ने बाध्यता छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने कञ्चनपुरका खेलाडीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपनि जिल्लास्तरमा भने खेल संरचनाको अवस्था भने दयनीय छ ।
कुस्ती, क्रिकेट, फुटबल र भलिबल जस्ता खेलका राष्ट्रिय टिमहरुमा कञ्चनपुरकै खेलाडीको वचस्र्व छ । जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले खेल मैदान नहुँदा प्रतियोगिता गराउन निकै समस्या खेप्नु परेको बताउँछन् । “कुनै प्रतियोगिता सञ्चालन गर्नुपर्यो भने हामीसँग खेल मैदान छैन”, चन्दले भने “कबर्डहलमा एउटा खेल मैदान छ त्यसैमा क्रिकेट, फुटबल सबै खेल खेल्नुपरेको छ ।”
आगामी शुक्रबारदेखि क्रिकेट सङ्घले कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ । उक्त प्रतियोगिताका लागि खेल मैदान नहुँदा सुदूरपश्चिम विश्वविद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्नुपरेको छ ।
“क्रिकेटका खेलाडी उत्पादनका लागि विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएका छौँ, तर खेल मैदान अभावकै कारण प्रतियोगिता सञ्चालनमा कठिनाइ हुने गरेको छ”, उहाँले भन्नुभयो । क्रिकेट र फुटबलका लागि छुट्टाछुट्टै खेल मैदान हुनुपर्नेमा एउटै मैदानमा खेलाडीले प्रशिक्षण गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
महेन्द्रनगरस्थित कबर्डहल परिसरमा क्रिकेट मैदानका लागि जग्गा रहेपनि मैदान निर्माण हुन सकेको छैन । आर्थिक वर्ष २०७६÷७७ मा राष्ट्रिय खेलकुद परिषद्ले बजेट विनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थालेपनि अहिले बजेटलगायतका कारणले निर्माण अघि बढेको छैन ।
कबर्डहलमा गुरुयोजना भन्दा बेग्लै केही संरचना बनेका कारण क्रिकेट मैदान बनाउन विनियोजित रु एक करोडभन्दा बढी बजेट माटो भरानमै सकिएपछि बाँकी काम अघि बढ्न सकेको छैन । क्रिकेट मैदान निर्माणस्थलमै जिल्ला खेलकुद विकास समितिले माछा पोखरी निर्माणका लागि जग्गा ठेक्कामा दिँदा अहिले क्रिकेटमा आएको रकम पोखरी पुर्नमासमेत खर्च भएको देखिन्छ ।
सरकारले भौतिक पूर्वाधार लगायतको सेवासुविधामा ध्यान दिनुपर्ने जिल्ला खेलकुद विकास समितिका सदस्य विकास महता बताउँछन् । “क्रिकेटमा मात्रै होइन कञ्चनपुरमा फुटबललगायतका अन्य खेलमा पनि राम्रो खेलाडी उत्पादन भइरहेका छन्”, उनले भने ।
उनले खेलकुद र खेलाडीको विकासमा राज्यको ध्यान नपुग्दा खेलाडी अन्यत्र पलायन हुने अवस्था आएको बताए । “हरेक खेलमा यहाँका थुप्रै खेलाडी नेपालका विभागीय टिममार्फत राम्रो पदर्शन गरिरहेका छन् ।” उनले भने, “राजनीति नगरी खेलकुदको विकासका लागि सबैले लाग्न जरुरी छ ।”
क्रिकेट फुटबलमा मात्रै होइन अन्य खेलमासमेत प्रशिक्षणका लागि ठाउँ नहुँदा समस्या झेल्नु परेको छ । कुस्तीमा सबैभन्दा बढी मेडल ल्याउनेमा कञ्चनपुर पर्छ । तर कञ्चनपुरमै कुस्ती प्रशिक्षणका लागि संरचना बन्न सकेका छैनन ।
कुस्ती प्रशिक्षण राजेन्द्रबहादुर चन्दले भन्नुभयो–“अहिले टाईगन्डोको हलमा प्रशिक्षण गरिरहेका छौँ ।” उनले साँझ बिहानको पालो मिलाएर टाईगन्डोको हलमा प्रशिक्षण गरिरहेको बताए । “सबैभन्दा बढी पदक प्राप्त गर्नेमा यहीँका खेलाडी छन्, तर यहाँ एउटा पनि प्रशिक्षण केन्द्र बन्न सकेको छैन”, उनले भने ।
कुस्ती प्रशिक्षणका लागि गत आर्थिक वर्षमा रु. १० लाख रकम आए पनि रु. सात लाख बराबरको मात्रै काम भएको थियो । चालु आर्थिक वर्षमा बजेट नै आउन नसक्दा उक्त प्रशिक्षण केन्द्रको काम अघि बढ्न सकेको छैन ।
महेन्द्रनगरस्थित कबर्डहलको जग्गा जिल्ला खेलकुद विकास समितिले कृषि प्रयोजनका नाममा गुरुयोजना विपरीत प्रयोग गरेपछि खेलाडीले कबर्डहलको खेल मैदान प्रयोग गर्न नपाएको स्थानीय बताउँछन । स्थानीय रमेश पन्तले राष्ट्रिय टोली र अन्य विभागीय टोलीमा समेत कञ्चनपुरकै खेलाडीको वचस्र्व रहेको बताउँदै जिल्लास्तरमा खेलका पूर्वाधार नहुनु विडम्बना भएको बताए ।