गोल्डेन पिक मा.वि.ले जित्यो कामनपा ६ नम्बर वडा स्तरीय बास्केटबल प्रतियोगिता
१२ वटा विद्यालय सहभागी खेलमा विजेताले पायो १ लाख रुपैयाँ नगद
Mayorsap
सोम, फागुन १२, २०८१ | ११:३३ बजे

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ६ ले आयोजना गरेको विद्यालय स्तरीय वडाध्यक्ष कप पहिलो बास्केटबल प्रतियोगितामा ४६ स्कोरसहित गोल्डेन पिक माध्यमिक विद्यालय विजेता बनेको छ ।
यही टिमका सोनाम शेर्पाले बेस्ट स्कोर उपाधि प्राप्त गरे । फागुन ९ गते सम्पन्न फाइनल खेलमा मंगलदीप माध्यमिक विद्यालयलाई पराजित गर्दै गोल्डेन पिक विजेता बनेको हो । मंगलदीपले ३६ स्कोर गरेको थियो । प्रतियोगिताका विजेतालाई वडाध्यक्ष भुवन लामाले, नगद १ लाख रुपैयाँ, फस्ट रनर अपलाई ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरे ।
खेल धुन्कमाण्डु, सिमलटारमा भएको थियो । खेल नकआउट प्रणालीबाट खेलाइएको थियो । कार्यक्रम समापन अवसरमा वडाध्यक्ष भुवन लामाले, युवाहरुको सिर्जनात्मक उर्जालाई जोगाउन र सहरी स्वास्थ्यको प्रवर्धन गर्न वडाले खेलकुदका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए । खेललाई सद्भावयुक्त सामाजिक व्यवस्थापनको औजारका रुपमा प्रयोग गर्न सकिने उनको भनाई थियो ।
‘विधागत खेलमार्फत बालबालिकाको चौतर्फी विकासका योजना क्रमशः कार्यान्वयन भइरहेका छन्,’ कार्यक्रममा वडा सदस्य नरेन्द्रकुमार थापाले धारणा राखे ।
वडासचिव कमल गौत्तमका अनुसार खेलमा सबैभन्दा धेरै ६२ स्कोर भएको थियो । छैटौँ खेलमा यो स्कोर गोल्डेन पिकले बौद्ध चिल्ड्रेन स्कूलविरुद्धको खेलमा गरेको थियो ।