कटारी मेयर गोल्डकपः काठमाडौंसँग भुटान पराजित
Mayorsap
सोम, फागुन १२, २०८१ | १९:३० बजे

१२ फागुन, उदयपुर । ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’मा च्याम्पियन ब्वाईज फुटबल क्लब, काठमाडौंले सामत्सी फुटबल क्लब, भुटानलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । आज भएको खेलमा भुटानका लागि अयुग डुकाले एक गोल गरे । काठमाडौंका लागि उमेश युङ्गमाले एक गोल र सुरज राउतले दुई गोल गरेका थिए । काठमाडौंका राउत ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले नगद रु तीन हजार पुरस्कार प्राप्त गरे ।
मंगलबारको खेल बागमती फुटबल क्लब सर्लाही र सहलेश युवा क्लव सिरहाबीच हुनेछ । कटारी नगरपालिकाको आर्थिक सहयोगमा कटारी नगर खेलकुद विकास समितिद्वारा आयोजित शनिबारदेखि जारी प्रतियोगिताको उपाधि विजेताले उपाधिसहित नगद रु तीन लाख हात पार्ने छ भने उपविजेताले रु एक लाख ५० हजार प्राप्त गर्ने छ । आठ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही फागुन १७ गते हुने आयोजकले जनाएको छ ।