युक्रेनबाट रुसी सेनालाई तत्काल फिर्ता गर्ने प्रस्ताव राष्ट्रसंघबाट पारित
Mayorsap
मंगल, फागुन १३, २०८१ | १०:३३ बजे

न्युयोर्क । संयुक्त राष्ट्र संघको महासभाले युक्रेनको पक्षमा प्रस्ताव पारित गरेको छ । प्रस्तावमा युक्रेनबाट तत्काल सबै रुसी सेना फिर्ता गर्नुपर्ने, शान्तिपूर्ण समाधान र तनाव कम गर्न माग गरिएको छ । युद्ध सुरु भएको ३ वर्ष पूरा भएको अवसरमा सोमबार राष्ट्र संघको महासभाले युक्रेनको पक्षमा प्रस्ताव पारित गरेको हो ।
उक्त प्रस्तावमार्फत रुस र युक्रेनबीचको तनाव कम गर्न, जतिसक्दो चाँडो शत्रुता अन्त्य गर्न र युक्रेन विरुद्धको युद्धको शान्तिपूर्ण समाधान गर्न आह्वान गरिएको हो । उक्त प्रस्तावमा १९३ सदस्य राष्ट्रहरू सम्मिलित राष्ट्र संघ महासभामा युक्रेन र युरोपेली सहयोगीहरूले प्रस्तुत गरे अनुसार युक्रेनमा न्यायपूर्ण र दिगो शान्ति कायम गराउने मस्यौदा प्रस्तावमा मतदान गरिएको हो ।
प्रस्तावको पक्षमा ९३ मत परेको थियो भने विपक्षमा १८ मत परेको थियो । भारतसहित ६५ सदस्य राष्ट्रले यो मतदान प्रक्रियामा भाग नै लिएनन् । राष्ट्रसङ्घमा प्रस्ताव स्वीकृत भएपछि सदस्य राष्ट्रहरूले प्रस्तावलाई स्वागत गरेका थिए ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनमा जारी युद्ध युरोपको शान्ति र सुरक्षाका लागि मात्र नभई राष्ट्र संघको आधारशिला र यसका मूल सिद्धान्तका लागि पनि गम्भीर खतरा भएको जनाएका छन । रूस– युक्रेन युद्धको तेस्रो वर्ष पूरा भएपछि यो प्रस्ताव आएको हो।