अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि दशरथचन्दलाई, मेलौली स्तब्ध
Mayorsap
सोम, फागुन १९, २०८१ | २१:२४ बजे

बैतडी । बैतडीमा सम्पन्न तेस्रो संस्करणको मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिकाले जितेको छ । गोठलापानीस्थित जगन्नाथ बहुउद्देश्यीय खेलमैदानमा सम्पन्न फाइनल खेलमा साविक विजेता मैलाली नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै दशरथचन्द विजेता बन्यो । यससँगै दशरथचन्दले रु एक लाख २५ हजार पुरस्कार प्राप्त गरेको आयोजक मैनेजर तेजबहादुर चन्द ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिए । पराजित मेलौलीले रु ७५ हजारमा चित्त बुझाएको छ ।
फाइनल खेलमा सुरूका दुई सेट दशरथचन्दले जितेको थियो । पहिलो सेट २६–२४, दोस्रो २५–२१ ले हात पा¥यो । तेस्रो सेट मेलौलीले २५–१८ ले जित्यो । चौथो सेट पुनः दशरथचन्दले २५–२३ ले आफ्नो पक्षमा पार्दै विजेता बनेको रेफ्री संयोजक हरि भण्डारीले जानकारी दिए ।
दशरथचन्दले यसअघि गत संस्करणमा फाइनलमा मेलौलीसँग हारेको बदला लिएको छ । यस्तै, प्रतियोगितामा सुर्नया गाउँपालिकाले तेस्रो स्थान हासिल गरेको छ । सुर्नयाले रु ३५ हजार पुरस्कार प्राप्त ग¥यो । सान्त्वना स्थानमा चित्त बुझाएको सिगास गाउँपालिकाले १५ हजार पुरस्कार पायो ।
दशरथचन्द नगरपालिकाका सुरज चुनारा सर्वोत्कृट खेलाडी भए । उनले रु पाँच हजार पुरस्कार जिते । मेलौलीका सन्देश चन्द बेस्ट सटर, दशरथचन्दका नवीन भण्डारी बेस्ट ब्लकर, दशरथचन्दकै सरोज चुनारा बेस्ट डिफेन्डर, सुर्नयाका सुरेन्द्र भाट बेस्ट सर्भर र मेलौलीका बरूण ठगुन्ना बेस्ट स्पाइकर भए । दोगडाकेदारको टिम अनुशासित घोषणा भयो ।
खेलाडीलाई सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक गणेश चन्द, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, मैनेजर तेजबहादुर चन्द ट्रष्टका अध्यक्ष इञ्जिनियर ग्रिस चन्दलगायतले पुरस्कार वितरण गरे ।
मैनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा फागुन १५ गतेदेखि सुरु भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाको सहभागिता रहेको थियोे । दशरथचन्द नगरपालिका–५ घर भएका तेजबहादुर चन्द वाणिज्य बैंकका क्षेत्रिय प्रबन्धक थिए । उनकै स्मृतिमा विसं २०७४ मा स्थापना भएको ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीको क्षमता अभिवृद्धिका लागि हरेक वर्ष भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।