आवश्यकताअनुसार संविधान संशोधन गर्न ढिलाइ गर्नुहुँदैन : सांसद सिटौला
Mayorsap
सोम, चैत ४, २०८१ | १५:१८ बजे

काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले आवश्यकताअनुसार संविधान संशोधन गर्न ढिलाइ गर्न नहुने बताएका छन् ।
राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै सांसद सिटौलाले देशलाई अगाडि बढाउन संविधान कार्यान्वयनको पुनरावलोकन गर्नुपर्ने बताएका हुन् । उनले भने, “संविधानको कार्यान्वयनबाट जनतालाई के कति उपलब्धि दिन सक्यौँ ? सही ढङ्गले जनताको हितमा प्रयोग गर्न सकेका छौँ वा छैनौँ भनेर गम्भीर समीक्षा गरौँ ।”
सांसद सिटौलाले राज्य सञ्चालनमा त्रुटी वा संविधानमा कमजोरी छ भने संशोधन गर्नुपर्ने बताए । उनले भने, “जनताको हितका लागि छ भने संविधान संशोधन गर्नुपर्छ । संविधानमा सुनिश्चित गरिएका हक प्रचलनमा ल्याउन सक्यौँ वा सकेनौँ त्यसको समीक्षा आवश्यक छ ।”
द्वन्द्वपीडितलाई न्याय दिने काम छिटो टुङ्याउनुपर्ने सांसद सिटौलाले बताए । उनले भने, “छिटो न्याय दिन आवश्यक छ । हामी सँगै लड्यौँ, मिल्यौँ, परिवर्तन र संविधान ल्यायौं । अब मिलेर समस्या समाधान गर्नुपर्छ ।”
परिवर्तनकारी राजनीतिक दलमा जुन दृढता देखिनुपर्ने त्यो नदेखिएको उल्लेख गर्दै उनले सबै एकताबद्ध भएर उभिने बेला आएको बताए ।