Ad Image

संघीयतालाई बलियो बनाउन स्थानीय तह र प्रदेशलाई अधिकार दिनुपर्छ : सभापति देउवा

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742227889.jpg

ललितपुर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताप्रति जिम्मेवार बनाउने गरी संघीयता कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका छन् । कांग्रेस संघीय मामिला समन्वय विभागद्वारा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘संघीयताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा उनले संघीयता कार्यान्वयन गर्दा जनताप्रति उत्तरदायी भई हरेक सुखदुःखमा साथ दिने कुरामा जिम्मेवार र जवाफदेही हुनुपर्ने बताए ।  
 

“संघीयतामा सबै तहलाई जिम्मेवार बनाउने कुरामा ध्यान दिँदै स्थानीय तह र प्रदेशलाई अधिकार दिनुपर्छ । हिमाल, पहाड, तराई सबै जातजातिको प्रतिनिधित्व र समन्वय मिलाउने र देशको आर्थिक अवस्थालाई ध्यानमा राखेर अधिकार दिने कुरामा सबै गम्भीर बनौँ । देशको एकतालाई कुनै हालतमा खल्बलिन दिनुहुँदैन”, सभापति देउवाले भने । 

 

उनले पार्टीलाई चलायमान बनाउन विभागहरूले खेलेको भूमिकाको प्रशंसा गरे । “पार्टीका सबै विभागहरूले राम्रो काम गरिरहेका छन्, यसले पार्टीलाई चलायमान बनाउन र साथीहरूमा उत्साह आएको छ, यो राम्रो हो”, उनले भने,“अहिलेको संवैधानिक व्यवस्थाअनुसार कुनै पनि पार्टीको बहुमत आउन कठिन छ । यो गठबन्धन सबै पार्टीको बाध्यता बनेको छ तर अब बहुमत ल्याउने गरी हामीले क्रियाशील हुन आवश्यक छ”, उनले भने ।