Ad Image

दलितको घरमा डोजर चलाउने पालिका अध्यक्षसहित तीनजना विरुद्ध जाहेरी दर्ता

User Image मेयरसाप डेस्क | ३ महिना अगाडि
Image of storage/news/1742653171.jpg

काठमाडौं । सिराहामा दलितको घरमा डोजर चलाउने औरही गाउँपालिकाका अध्यक्षसहित तीन जनाविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ ।  औरही गाउँपालिका– ५ मा विष्णु महायज्ञको नाममा अछुत भन्दै दलितको घर भत्काइएका गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबामाथि जाहेरी दर्ता भएको हो । 

 

पीडित दीपक मल्लिकले उनीहरुविरुद्ध जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका हुन् । गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष शुक्रबारदेखि प्रहरी नियन्त्रणमा छन् । बजरंगी बाबा भने फरार रहेको प्रहरीले जनाएको छ ।

 

सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले पीडित परिवारको जाहेरी प्राप्त भएको र अब कानूनी कारबाही प्रक्रिया अघि बढेको जानकारी दिए । जातीय छुवाछुतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।  महायज्ञका नाममा फागुन १० मा अछुत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घरमा डोजर चलाइएको थियो ।