लमजुङको सुन्दरबजार नगरपालिका पाउँदीमा प्रहरी चौकी निर्माण
Mayorsap
सोम, फागुन २६, २०८१ | १८:१८ बजे

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–७, पाउँदीमा प्रहरी चौकीको भवन निर्माण गरिएको छ। उक्त भवनको आज एक कार्यक्रमबिच प्रहरी नायब महानिरीक्षक फणीन्द्र बरालले उद्घाटन गरे।
प्रहरी नायब महानिरीक्षक बरालले प्रहरीका लागि स्तरीय भवन आवश्यक भएको बताए। प्रहरीको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन पूर्वाधार आवश्यक भएको उनको भनाइ थियो । नयाँ भवनबाट प्रहरीलाई कामकाज गर्न सहज हुनुका साथै नागरिक र प्रहरीबिचको सम्बन्धलाई अझ मजबुत बनाउन योगदान पुग्ने उनले बताए। सेवा प्रवाहमा सुधार गर्न पूर्वाधार विकासमा विशेष ध्यान दिएका छौँ, प्रहरी नायब महानिरीक्षक बरालले भने।
कुल रु. दुई करोड २८ लाख ४३ हजारको लागतमा सो भवन निर्माण गरिएको हो। प्रहरी चौकी भवन तीन रोपनी एक आना तीन दाम क्षेत्रफलमा फैलिएको छ। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, सुन्दरबजार नगरपालिका–७ का वडाध्यक्ष जयराम रेग्मी, सुन्दरबजार नगरपालिकाका पूर्वनगरप्रमुख जनकराज मिश्रलगायतले आ–आफ्नो धारणा राखेका थिए ।