आपसी मतभेद हटाएर पार्टी संगठन निर्माणमा लाग्न सभापति देउवाको निर्देशन
Mayorsap
सोम, फागुन २६, २०८१ | २०:५९ बजे

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी मतभेद र असमझदारी हटाएर पार्टी सङ्गठन निर्माणमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । आज धनगढीमा सुरु भएको पार्टीको प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा उनले आपसी प्रतिस्पर्धाका नाममा पार्टीलाई अहित गर्ने काम गर्न नहुने र सुदूरपश्चिमबाटै यसको सुरुआत गर्न आग्रह गरे । “पार्टीभित्रको प्रतिस्पर्धा स्वभाविक मानिए पनि अन्य पार्टीसँगको प्रतिस्पर्धाका क्रममा हुने अन्तर्घात जस्तो रोगलाई सदाका लागि निर्मूल गरेर अघि बढ्नुपर्छ । यसको सुरुआत यहीबाट गरौँ”, उनले भने ।
कांग्रेस–एमालेबीच गठबन्धन गर्नुपर्ने विविध कारण उल्लेख गर्दै सभापति देउवाले मुख्य प्रतिस्पर्धी भए पनि संसद्को गणित र देशको आवश्यकता अनुसार मिलेर सरकार बनाउनुपरेको बताए । उनले प्रतिस्पर्धालाई आफ्नो ठाउँमा राखेर देशका हितमा भोलिका दिनमा पनि मिलेर काम गर्न सकिने बताए ।
“संविधानबमोजिम राष्ट्र नै समावेशी र समानुपातिक पद्धतिमा चलेकाले प्रत्यक्ष चुनावमा कुनै पनि पार्टीको बहुमत प्राप्त गर्न नसकेकाले कुनै पनि पार्टीसँग गठबन्धन गर्नुपर्ने अवस्था रहेको छ । प्रतिस्पर्धा हुन्छ तर मिलेर पनि काम गर्नुपर्ने आवश्यकता छ । भोलिका दिनमा हामी सबै मिले सङ्गठन बलियो बनाउन लाग्यौँ भने एक्लै बहुमत पनि ल्याउन सकिन्छ । त्यसका लागि इमान्दर भएर लागौं”, उनको आग्रह थियो ।
उपसभापति पूर्णबहादुर खड्काले पार्टीले गरेका राम्रा कामको प्रचार गरेर पार्टीप्रति जनताको विश्वास र भरोसा जगाउन जरूरी रहेको बताए । उनले भने, “पार्टीप्रतिको भरोसाको जगलाई आधार बनाएर अहिले देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न सकिन्छ । त्यसमा सबै जुटौं, आआफ्नो क्षेत्र र तहबाट राम्रो काम गरौं ।”
महामन्त्री गगनकुमार थापाले देशमा व्यवस्था बदलिए पनि नागरिकको अवस्था नबदलिएको गुनासो आइरहेकाले पार्टीले नागरिकको असन्तुष्टिको आगो निभाउनेतिर लाग्नुपर्ने बताए । उनले शासनको भार संविधानलाई बोकाएर नहुने भन्दै संविधान निर्माणको नेतृत्व गरेको कांग्रेसले संविधानबमोजिम जनताको अवस्था बदल्ने विश्वास दिन जरूरी रहेको उनको भनाइ थियो ।
“नागरिकले हामीले भनेको हरेक परिवर्तनका आन्दोलनमा साथ दियो । हामीले व्यवस्था बदल्न साथ देऊ, अवस्था बदल्न लाग्छौँ भनेर वाचा ग¥यो । आज त्यो पूरा भएन भनेर असन्तुष्टि छ । जनताले अवस्था बदल्ने गरी सेवा प्रवाह खोजेकोले व्यक्तिगत आकाङ्क्षातिर नलागेर काम गर्नुपर्छ । वाचा पूरा गर्न ठोस काम गर्न जरुरी छ”, उनले भने । महामन्त्री थापाले समयमै पार्टीको महाअधिवेशन गर्ने कुरा पार्टीका क्रियाशील सदस्यमा भर पर्ने बताउँदै समयमै सदस्यता नवीकरण गराएमा अधिवेशन समयमै हुने बताए ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको व्यवस्था भित्रैबाट सबैको हित गर्न सकिने चर्चा गर्दै पुरानो व्यवस्थाबाट पार नलाग्ने बताए । विगतमा देशको प्रतिकूलतालाई अनुकूलतामा लैजाने कामको नेतृत्व कांग्रेसले गरेको उल्लेख गर्दै उनले पार्टीले संयमता, एकता, परिपक्वताका साथ काम गर्ने समय आएको बताए ।
कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखकले व्यवस्था र संविधानविरुद्ध भइरहेको षड्यन्त्रलाई राष्ट्र र कांग्रेसविरुद्धको षडयन्त्रको संज्ञा दिए । उनले सहिष्णुता, उदारता जस्ता नेपाली लोकतन्त्रका विशेषतालाई कमजोरीका रूपमा नलिन परिवर्तन विरोधीलाई चेतावनी दिए ।
कांग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुशासन कायम गर्न प्रदेश सरकारले इमान्दारिता र नैतिकताका साथ काम गरिरहेको बताए । सम्मेलनको उद्घाटन समारोहमा कांग्रेसका केन्द्रीय प्रवक्ता डा प्रकाशशरण महत, सहमहामन्त्रीहरू जीवन परियार, भीष्मराज आङदम्बे, महालक्ष्मी (डिना) उपाध्याय, पूर्वमहामन्त्रीद्वव कृष्ण सिटौला, डा।शशाङ्क कोइराला, प्रदेश सभापति वीरबहादुर बलायरलगायतले सम्बोधन गरेका थिए । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट कांग्रेसका प्रतिनिधि सहभागी सम्मलेनमा पार्टीका प्रदेश महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।