चुनाव हारेपछि रुस गएका पूर्ववडाध्यक्ष तिलक युद्धमा मारिए


दाङ। रुसी सेनामा कार्यरत रोल्पाका तिर्खबहादुर बुढाथोकी (तिलक)को मृत्यु भएको छ । सुनछहरी गाउँपालिका–५ को पूर्ववडाध्यक्ष समेत रहेका ४४ वर्षीय बुढाथोकीको रुस–युक्रेन युद्धमा परी मृत्यु भएका हो । उनको साथीभाइले फागुन २४ गते तिलकको मृत्यु भएको खबर गरेपछि पारिवारिक सदस्यहरूले काजकिरिया गरेका छन् ।
तीर्खका जेठा दाजु खगेन्द्र बुढाथोकीका अनुसार उनी फागुन १३ गतेबाट परिवारको सम्पर्कबाहिर भएका थिए । नेपाली सेनामा कार्यरत रहेका उनलाई द्वन्द्वकालमा अभिभावकले राजीनामा दिन लगाएका थिए । पछि वैदेशिक रोजगारीमा जाने प्रयास समेत असफल भएपछि उनी राजनीतिमा लागेका थिए ।
उनी नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा सुनछहरी गाउँपालिका इन्चार्जसमेत भए । ०७४ को चुनावमा वडाध्यक्ष जितेका थिए । ०७९ को निर्वाचनमा भने पराजित भएपछि उनी २०८० असोजमा रुस गएका थिए । उनले आफू रुस जान लागेको बारे परिवारलाई खबरसमेत नगरी गएको आफन्तले बताएका छन् । उनको घरमा एक छोरी, एक छोरा र श्रीमती छन् ।